वराहक्षेत्र / सन् १९९३ देखि २०१२ सम्म करीब १९ वर्ष २ महिना थाइल्यान्डको वाखवङ सेन्टर प्रजेन्ड (जेल) मा बिताएका चन्द्रकुमार राई अहिले भने कृषि उद्यममा लागिपरेका छन् । थाइल्यान्डमा साथीहरूसँगको सङ्गतका कारण राईले २७ वर्षदेखि ४७ वर्षको उमेरसम्म ऊर्जाशील समय जेलमा बिताउनु परेको थियो ।
सन् २०१२ को अन्तिममा नेपाल फर्केपछि उनले शिक्षालय खोलेर शिक्षाको ज्ञान बाँड्न सुरु गरे । आफ्नो पुख्र्यौली थलो वराहक्षेत्र–२ को जब्दी (मधेशी टोलमा) नै मन्टेश्वरी खोलेर उनले बालबालिकालाई कखरा सिकाउन थाले । उनलाई उनकी श्रीमतीले साथ, सहयोग र उत्पे्ररणा दिइन् । मन्टेश्वरी सञ्चालनसँगै राईले एक वर्षयता पुख्र्यौली जमिनमा परम्परागत कृषि कार्य पनि गरिरहेका छन् । पावल कृषि फर्म दर्ता गरेर उनी माछा, कुखुरा, बङ्गुर र बाख्रापालन गरी कृषिमा रमाइरहेका छन् ।
करीब ४ लाख रूपैयाँको लगानीमा एक वर्षअघि सुरु गरिएको फर्ममा १० कट्ठा जग्गामा माछा पालिएको छ । उनले घरमै बोयरकम र स्थानीय प्रजातिका २५ वटा बाख्रा, बङ्गुर र कुखुरा पालन गरिरहेका छन् । बाख्राबाट तेस्रो वर्षमा र बङ्गुरबाट दुई वर्षपछि मात्र आम्दानी हुने भएकाले अहिले लगानीमात्र गरिरहेको उनी बताउँछन् । सेभन कार्प प्रजातिका माछा पालेका उनले पोखरीबाट एकपल्ट माछा निकालिसकेका छन् । अहिले उनले पोखरीमा १० हजार भुरा हालेका छन् ।
१० कट्ठामध्ये ६ कट्ठामा पोखरी खनेका उनले माछा जोन कार्यक्रमअन्तर्गत करीब ५० हजार रूपैयाँ अनुदान पाएका छन् । सरकारले वास्तविक र असल कृषकलाई नखोजेको राईको गुनासो छ । ‘झोलामा बोकेको फर्मलाई सरकारले विभिन्न प्रकारका अनुदान दिन्छ’, उनले सुनाउ, ‘अनुदानका लागि पहल गर्दा खर्च मात्रै हुन्छ, प्राप्त हुन्छ भन्ने आश नै हुँदैन ।’ असल किसानले पाउनुपर्ने अनुदान राजनैतिक पहुँच र कमिसनको लोभमा बिचौलियाको हातमा पर्ने गरेको उनले बताए ।
माछाबाट मध्यम तथा बाख्रा र बङ्गुरबाट राम्रो आम्दानी गर्ने बताउने राईले फर्म विस्तार गर्ने लक्ष्य लिएका छन् । बजारमा पर्याप्त माग रहेकाले बाख्रा र बङ्गुर बढाउँदै लैजाने उनको योजना छ ।