धरान / कुनै बेला थियो, जब प्रेमलाई पूजा गरिन्थ्यो । प्रेम अभिव्यक्त गर्ने शैली फरक थियो । अहिलेजस्तो खुल्लमखुल्ला प्रेम गर्न गाह्रो थियो । प्रविधिको विकास नहुँदा प्रेमी–प्रेमिकाले लामो समयसम्म चिठीपत्रमै भलाकुसारी गर्थे भने भेटघाट कम हुने गथ्र्यो ।
त्यस बेला प्रेम अभिव्यक्त गर्ने मुख्य माध्यम ‘लभलेटर’ (प्रेमपत्र) र विद्युतीय र छापा सञ्चारमाध्यमबाट गरिने ‘पत्रमित्रता’ नै थिए । वर्षौंसम्म देखादेख हुँदैन थियो । फोटो हेरेर प्रेमी तथा प्रेमिकाको अवस्थाबारे अनुमान गर्नुपथ्र्यो । त्यस बेला नेपालमा भ्यालेन्टाइन डे मनाउने चलन थिएन । माया गर्ने निश्चित बार वा गते हुँदैनथ्यो । आत्मिक माया हुन्थ्यो ।
तर अहिले बिस्तारै प्रेमको स्वरूप परिवर्तन भएको छ । प्रविधिले फड्को मारेसँगै प्रेमको स्वरूपमा पनि परिवर्तन आएको हो । त्यस बेला माया निश्छल र छलकपटविहीन हुन्थ्यो भने अहिले मायालाई व्यक्तिगत स्वार्थ पूर्ति गर्ने माध्यम बनाइयो ।
प्रेम महत्तवपूर्ण भाव हो । प्रेमले मानिसको जीवनमा परिवर्तन ल्याउने गर्छ तर अहिले पे्रम दिवसको नाममा प्रेमको अभिनय गरिन्छ, सामाजिक सञ्जालमा जोडीको फोटो पोस्ट गरिन्छ र रमाइला गफ गरिन्छन् ।घुम्न निस्कने जोडीको कमी हुँदैन । निरन्तर सम्पर्क हुन्छ, सम्बन्ध क्षणिक हुन्छ । त्यस बेला प्रेम दिवस थाहा नै हुँदैनथ्यो । सामाजिक, आर्थिकलगायत विभिन्न कठिनाइले प्रेमी–प्रेमिकाबीच भेटघाट हुन नै मुस्किल हुन्थ्यो तर माया भने सदैव गाढा हुन्थ्यो ।
अहिले युवायुवतीले फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेको रूपमा महत्तवका साथ लिने गरेका छन् । त्यस दिन उनीहरूले आपसमा प्रेम साटासाट गर्छन् । हुन त यो दिवस हाम्रो होइन भन्ने तर्क पनि आउने गरेको छ ।
रोमका एक जेलरकी छोरीसँगको प्रेममा पागल भएका भ्यालेन्टाइनले मृत्युदण्ड पाउनुभन्दा केही दिनअघि अन्तिम प्रेमपत्र लेखेका थिए । दृष्टिविहीन प्रेमिकालाई आफ्ना आँखा दान दिएर उनले मृत्युदण्ड स्वीकारेका थिए । प्रेममा गरेको त्यागका कारण सम्राटबाट उनले पाएको मृत्युदण्डलाई हाँसीहाँसी स्वीकारेको घटनालाई स्मरण गर्दै उनको समाधिस्थलमा बनाइएको स्मारकमा प्रत्येक वर्ष कैयौँले श्रद्धाञ्जलि अर्पण गर्छन् । त्यही घटनाको सम्झनामा फेबु्रअरी १४ लाई विश्वभरि नै प्रेम दिवसको रूपमा मनाउन थालिएको बताइन्छ ।