इलाम/ अघिल्ला वर्षहरूमा माईजोगमाई गाउँपालिकाको प्याङका श्याम थेबेका कुचो पनि नबिक्दा मक्किएरै खेर गए । गत वर्ष नबिकेकै कारण यस वर्ष कुचो नथुत्ने योजनामा रहेका थेबेले यस वर्ष मूल्य आएसँगै बगानका सबै कुचो थुतिसकेका छन् ।
माईजोगमाई गाउँपालिकाको सोयाङका सुमन बेघाले आफ्नो अम्लिसो बगानमा खेताला लगाएर कुचो निकाले । गत वर्षकोे तुलनामा कुचोको मूल्य बढेपछि उनले खेताला लगाएर कुचो निकालेका हुन् । थेबे र बेघामात्र होइन, कुचोको भाउ बढेपछि जिल्लाका किसानहरू हर्षित बनेका छन् ।
विगतका वर्षहरूमा प्रतिकिलो ३० देखि ४० रूपैयाँसम्म गाउँघरमा किनबेच हुने कुचो यस वर्ष प्रतिमन ५ हजारदेखि ५ हजार ५ सय रूपैयाँसम्म किनबेच भएका छन् । जिल्लाका अधिकांश ठाउँमा हुने कुचोबाट राम्रै आम्दानी आउने भएपछि किसानले कुचो थुतिसकेका छन् ।
गाईवस्तुलाई हिउँदे घाँसका रूपमा खुवाउन धेरैजसो किसानले अम्लिसो रोप्ने गर्छन् । अम्लिसो मलिलो, खुला र पाखाबारीमा राम्रोसँग फस्टाउने गर्छ । एकपटक रोपेपछि यसले ११–१२ वर्षसम्म घाँससँगै कुचो पनि दिइरहने हुँदा घाँसका लागि सबैको रोजाइमा अम्लिसो पर्ने गरेको छ ।
रोपेको दुई वर्षदेखि घाससँगै कुचो उत्पादन हुने र यसको हेरचाह गर्न खासै मेहनत पनि गर्नु नपर्ने हुँदा गाईभैँसीका लागि मुख्य घाँसको रूपमा किसानहरूले अम्लिसो रोप्ने गर्छन् । यो वर्ष कुचोको भाउ आएकोले व्यापारीहरू घरमै आउन थालेका छन् ।
‘भाउको त टुङ्गै हुँदैन । कहिले आउँछ, कहिले आउँदैन ।’ कुचो किसान मातृका घिमिरेले भने । कुचोको बिक्रीसमेत अन्य वस्तुको जस्तो सहज हुँदैन । काँचो टिपेमा यसको भुँवा झरेर घट्ने सम्भावना बढी हुन्छ । यसैले किसानले टिप्ने बेलामा सचेत नभएमा उपयुक्त दाम नपाउन सक्छन् । घिमिरेका अनुसार तयारी चिया, अलैँचीजस्ता पदार्थ एक वर्षको उत्पादन अर्को वर्ष बेच्न मिल्छ ।
कुचो भने उत्पादन भएकै वर्ष बेचिसक्नुपर्छ । सोही वर्ष नबिके अर्को वर्ष गुणस्तर खस्किन्छ । पछिल्ला वर्षहरूमा भारतकै ग्रामीण भेगमा अम्लिसो उत्पादन हुन थालेपछि नेपाली कुचोको माग घट्न थालेको थियो ।
डाँठ पनि बिक्री
इलामको रोङ गाउँपालिकाका किसानले अहिले अम्लिसोको कुचो र डाँठ दुवै बिक्री गरिरहेका छन् । डाँठ पनि बढार्नकै लागि बिक्री हुने गरेको हो । डाँठ बेच्न अम्लिसोलाई दुईदेखि अढाइ फिटसम्म बनाउनुपर्छ । यसको मूल्य किसानले प्रतिकिलो पाँचदेखि १० पैयाँसम्म पाउँछन् । व्यवसायी जीवनहरि भट्टराईका अनुसार यहाँ ‘धेरै पहिलेदेखि डाँठ बिक्न थालेको हो ।’
यसको खास प्रयोग चाहिँ कुचोको बीचमा राख्नका लागि हुन्छ । कुचोको मुठा आकर्षक देखाउन व्यवसायीले डाँठ किन्ने गर्छन् । अहिले यो क्षेत्रको अम्लिसोको कुनै भाग पनि खेर जाँदैन । ‘झापा नजिकको गाउँपालिका भएकाले पनि किसानलाई बजारको समस्या छैन’, भट्टराईले भने, ‘कुचोको माग भारतबाट समेत आउने गर्दछ ।’ उनले झापाका धुलाबारी, काँकडभिट्टामा खपत हुने र भारतमा समेत जाने बताए । किलोको हिसाबले भन्दा यसरी कुचो बनाउँदा धेरै आम्दानी हुने भट्टराईको अनुभव छ । ‘कुचो बनाएर बेच्दा धेरै मूल्यमा बिक्छ ।’ उनले थपे ।
कागज बनाउने उद्योग बन्द
झापामा अम्लिसोको डाँठबाट कागज बन्थ्यो । त्यस बेला किसानसहित व्यवसायीले पनि यसबाट राम्रो मूल्य पाउँथे । झापामा सञ्चालनमा रहेको उद्योग बन्द छ । अहिले नेपालभर यस्तो उद्योग छैन । विगतमा जस्तो मूल्य किसान र व्यवसायीले पाएका छैनन् । स्थानीयस्तरमै उद्योग स्थापना भए किसानले राम्रो मूल्य पाउने व्यवसायी भट्टराई बताउँछन् ।
झापामा उद्योग सञ्चालन हुँदा कागज मात्रै होइन, डाँठबाटै कार्टुनसमेत बन्थ्यो । व्यवसायी भट्टराईका अनुसार अम्लिसो प्रवद्र्धनका लागि निजी क्षेत्रबाट समेत खासै प्रयास नभएको उनको भनाइ छ । अन्य कृषिजन्य उत्पादन प्रवद्र्धनका लागि संस्था गठन भएपछि किसान, श्रमिक वा व्यवसायीको ध्यान यसतर्फ गएको छैन ।
कृषिजन्य उत्पादन चिया र अलैँचीमा वर्षेनी प्रोत्साहनका कार्यक्रम आउँदा अम्लिसोका लागि रकम नै नछुट्टिएको गुनासो छ । किसानले धेरै उत्पादन गरेका बेला कम र कम उत्पादन गरेका बेला बढी मूल्य हुने गरेको छ । बजार मूल्यको अस्थिरताका कारणले पनि धेरै किसानले अम्लिसो मासेर वैकल्पिक खेती गर्न थालेका छन् ।