कन्यामभन्दा कम छैन पानीटार

  • माघ २०, २०७७
  • भगीरथ भण्डारी
alt

इलाम: देशकै प्रमुख पर्यटकीय स्थल हो, कन्याम । सूर्योदय नगरपालिकामा पर्ने कन्याम घुम्नकै लागि नेपालबाट मात्र होइन, भारत र भुटानबाट समेत पर्यटकहरू आउँछन् ।

मनोरम चियाबारीमा सेल्फी लिनकै लागि कन्याममा भीड लाग्छ । तीन वर्ष अघिसम्म कन्याम नै इलामको एकमात्र प्रख्यात चियाबारी भनेर चिनिन्थ्यो । सुगम क्षेत्र र सडक भएकोले जो कोहीको मन कन्याममा तानिन्थ्यो । अहिले भने कन्यामझैं चियाबगानका कारण उत्तिकैै प्रख्यात बनेको छ, देउमाई नगरपालिकामा पर्ने पानीटार ।


तीन वर्षसम्म पानीटारबारे अधिकांश जिल्लावासीलाई नै थाहा थिएन । चियाबारी भन्नेबित्तिकै कन्याम, श्रीअन्तुमात्र बुझिने भएकाले यो ठाउँ ओझेलमा थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो । स्थानीय तह र पर्यटनसँग सम्बन्धित निकायले चासो नदिएकै कारण यो ठाउँ ओझेलमा प¥यो, तर अहिले यसले काँचुली फेरेको छ ।

स्थानीय मात्र होइन, बाहिरी जिल्लाका पर्यटकको पनि नयाँ गन्तव्य बनेको छ, पानीटार । कतै अग्लो र कतै होँचो तर मिलेको चियाबारी यहाँको मुख्य आकर्षण हो । अन्तु बिर्साउने चिसो र पर्यटक तान्ने वनभोजस्थल यहाँको अर्को विशेषता हो । पर्यटकमात्र होइन, पानीटारमा अहिले चलचित्र खिच्ने र म्युजिक भिडियो बनाउने क्रम पनि सुरु भएको छ ।

हिउँदमा मनोरञ्जनका लागि आउने गतिलो गन्तव्य बनेको यहाँका पर्यटन व्यवसायी पासाङ शेर्पा बताउँछन् । शेर्पाका अनुसार मिडियाको प्रचारले नै पानीटार पर्यटकीय क्षेत्र बनेको हो । ‘कुनै निकायले यसको प्रचारका लागि चासो देखाएन । मिडियाको प्रचारले नै अहिले पानीटार पर्यटकीय क्षेत्र बन्दै छ’, शेर्पाले भने, ‘आउँदो साल माथिल्लो क्षेत्र (गाग्रे भञ्ज्याङ) बाट आउने कच्ची सडक पक्की भएपछि आवागमनका लागि झनै सहज हुन्छ ।’
केही समयअघि युट्युबमा सर्वाधिक रुचाइएको म्युजिक भिडियो ‘तीनपाते’ देखि प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी अभीनित ‘प्रेम दिवस’ चलचित्रमा समेत पानीटारको सुन्दर चियाबारीको दृश्य देख्न सकिन्छ ।

प्राकृतिक छायाङ्कन स्थलका रूपमा विकास हुँदै गरेको यहाँ आकर्षक चियाबारी र शान्त क्षेत्र भएकाले चलचित्रकर्मीहरू यस क्षेत्रमा सुटिङ गर्न आउने गरेका छन् । पानीटारमै भेटिएका चलचित्र निर्देशक पुष्प तामाङले आपूmले चियाबारी भन्नेबित्तिकै कन्याम र अन्तु मात्रै बुझे पनि पछिल्लो समय पानीटारबाट प्रभावित बनेको सुनाए । ‘इलाम त पहिले पनि आएको थिएँ तर पानीटार आएको थिइनँ ।’ उनले भने । प्राकृतिक क्षेत्रको प्रचार अनि दर्शकको आँखा अड्याउने ‘भर्जिन ल्यान्ड’ भएकाले धेरै चलचित्रकर्मी आउने गरेको निर्देशक तामाङ बताउँछन् । चलचित्र ‘कृष्णलीला’ को छायाङ्कनका लागि उनी यहाँ आएका थिए ।

श्रीअन्तु, कन्याम, माईपोखरीमा वर्षभरि नै पर्यटक घुम्छन् । यी क्षेत्रका बासिन्दाको जीविकोपार्जनको माध्यम नै पर्यटक हो । होमस्टे, होटल, लोकल परिकारका स्वाद चखाउने कारणले नै पर्यटक यहाँ पल्किन्छन् तर पानीटारमा चाहिँ अहिलेसम्म व्यवस्थित खानपान र बस्ने ठाउँको अभाव छ । भर्खरै पर्यटकीय क्षेत्र बन्दै गरेकोले पनि होमस्टे खुल्ने क्रममै छन् । पर्यटक बढ्दै जाँदा स्थानीयले घर(घरमा होटल सञ्चालन गर्न थालेको पर्यटन व्यवसायी शेर्पा बताउँछन् ।

व्यवस्थित होटल नभएकाले पर्यटकहरू लामो समय यहाँ रहँदैनन् । अब भने पर्यटन व्यवसायीकै सहकार्यमा योजना बनाइरहेको शेर्पा बताउँछन् । अहिले पानीटारमा हरेक शनिबार र शुक्रबार गरी करीब दुई सय पर्यटक भित्रिन्छन् । विशेषतः घुमघाम र हिउँदमा वनभोज खान आउनेको सङ्ख्या बढी हुन्छ । ‘अहिले वनभोजका लागि त हामीले स्थानीय सिंहदेवी सामुदायिक वनको २५ प्रतिशत क्षेत्रमा वनभोज क्षेत्र वनाएका छौ ।’ यहाँ निजी र सामुदायिक दुई किसिमको चियाबारी छ । चलचित्र निर्देशक केवल तामाङले भनेझैं पानीटारको प्रवद्र्धनमा स्थानीय तहको ध्यान गएको देखिँदैन ।

नगरपालिका पनि पानीटारमा मात्र नभई पर्यटकीय क्षेत्रमा आप्mनो ध्यान नगएको स्वीकार्छ । नगरका प्रवक्ता एवम् वडा नं. ३ का वडाध्यक्ष दावा तामाङले आपूmहरू सडक निर्माणका काममा खटिएकाले पर्यटनमा ध्यान नगएको बताए । सबै पक्षको ध्यान जाने हो भने पानीटारमा केही वर्षमै पर्यटकको आकर्षण वढ्ने पर्यटनकर्मी शेर्पाको भनाइ छ । खानेपानी अभाव टार्न केही महिनादेखि मोटरबाट तानेर उपलब्ध गराउन थालिएको छ ।
सडक पक्की हुने हो भने पानीटारमा पर्यटकको ओइरो लाग्ने पर्यटठन व्यवसायीहरू बताउँछन्, तर यसतर्पm कसैको खासै चासो देखिँदैन । पानीटार पुग्न गाग्रेभञ्ज्याङबाट अप्ठ्यारो ग्राभेल बाटो हिँड्नुपर्छ ।

बलौटे माटोमा जोखिमपूर्ण बाटो हिँड्नुपर्छ । यति बाटो पक्की भएमा धेरै सहज हुने स्थानीय पर्यटनकर्मीको भनाइ छ । स्थानीय तहको चासो गएर नगरकै पर्यटकीय क्षेत्रको सूचीमा परेमा मात्र पनि सुधार हुन सक्छ । नगरले भौतिक निर्माणलाई प्राथमिकता दिँदा पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । देउमाई नगरको प्रमुख पर्यटकीय क्षेत्र पानीटारसमेत नगरको प्राथमिकतामा नपर्दा अन्य पर्यटकीय क्षेत्रको स्थिति कस्तो होला भनेर अनुमान गर्न सकिन्छ ।

स्थानीय तहमात्र नभई प्रदेश र सङ्घीय सरकारकै आँखा पनि यहाँ पुगेका छैनन् । मनोरम भए पनि सुविधा नहुँदा विकास हुन सकेको छैन । भौतिक विकासलाई नै प्राथमिकतामा राखेको नगरपालिकाले यहाँ भने ध्यान दिएको देखिँदैन । यसतर्पm चासो जानु आवश्यक देखिन्छ ।

पानीको अभावमा पानीटार नामै पानीटार 

जो कोहीलाई लाग्न सक्छ, प्रशस्त पानी होला, तर यहाँ पानीको हाहाकार छ । पानीको समस्या हटाउन गत वर्ष मोटरबाट पानी तानियो । पानी पनि आयो तर पर्याप्त छैन । यसका लागि नगरले पानीको आयोजना नै भित्र्याउनुपर्ने देखिन्छ । सम्भावित क्षेत्र भएकाले पनि पानी ल्याउन चासो हुनु आवश्यक देखिन्छ । वनभोज क्षेत्रका रूपमा विकास भए पनि पानी अभाव हुँदा वनभोजमा आउने समस्यामा पर्ने गरेका छन् ।


यहाँ फोहोर व्यवस्थापन पनि हुन सकेको छैन । पर्यटकले प्लास्टिकजन्य वस्तु जथाभावी फ्याँक्नाले कुरूप बन्दै गएको छ । यसतर्फ पर्यटनकर्मीको चासो जानु आवश्यक देखिन्छ । कम्तीमा चियाबारीमा ठाउँ–ठाउँमा डस्टबिन राखेमा मात्रै पनि केही हदसम्म फोहोर हट्न सक्छ । यसतर्फ पर्यटनकर्मी र पर्यटक पनि सचेत हुनुपर्ने देखिन्छ । मनोरम क्षेत्र घुम्न जाने अनि फोहोर बनाएर फर्किदा अरूलाई असर पर्ने पनि पत्तो पाउनु पर्छ । जथाभावी फोहोर फ्याक्नाले चियाबारीको सौन्दर्य गायव बनाउँछ । पानिटार मात्र होईन यहाँ बाट नजिकै रहेको सिद्विथुम्का डाँडा र देउमाई नगरपालिकाकै गुथा थुम्कि सूर्योदय र सूर्यस्थका लागि पनि परिचित छ । गुफा थुम्कि पुग्दा थुम्का थुम्कामा रहेका चियाका बुट्टा र त्यहाँ रहेको पोखरीले त्यहाँ गुग्ने पर्यटकलाई दिनबितेको पत्तै हुँदैन ।

इलाम सदरमुकामदेखि करीव ३० किमीको दूरीमा पर्ने पुग्न इलाम सदरमुकाम–बिब्ल्याँट्टे बजार-नेपालटार र गाग्रेभञ्ज्याङ पुगेर अलिकति झर्नुपर्छ । सदरमुकामबाट गाग्रेभञ्ज्याङसम्म पक्की र गाग्रेभञ्ज्याङदेखि केही ओरोलो कच्ची सडककोयात्रा पछि पानीटार पुगिन्छ । त्यति मात्र होईन झापाको विर्तामोड-शनिशरे हुँदै मंगलबारेको बाटो पनि पानीटार पुग्न सकिन्छ । पछिल्लो समय सदरमुकामको बाटो भन्दा झापाबाट आउने बाटो छोटो भएकाले बढी पर्यटक यही बाटो आउँछन् ।

यो बाटो झापाबाटै ५३ किमी हिड्दा नै मंगलबारे सडक खण्डमै पर्र्छ पानीटार ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved