धनकुटा÷ धनकुटाका जिल्लाकै अग्लो पटेक डाँडा पर्यटन क्षेत्र बिस्तारका लागि बजेट अभाव हुँदा पर्यटन प्रवद्र्धनमा समस्या देखिएको छ ।
नेपाल सरकारको एक सय गन्तब्य मध्येको एक स्थानमा सुचिकृत यस क्षेत्रमा पूर्ण संरचना बन्न नसक्दा पर्यटकहरुले सास्ती बेहोर्नु परेको स्थानीयबासीहरुको भनाई रहेको छ ।
२०७५ सालबाट हालसम्म छथर जोरपाटी गाउँपालिकाको पहलमा सिंधुवा बजारको हलहलेबाट १ सय १८ मीटर कच्ची सडक, २ सय २७ मीटर सिंढी र ४ सय ६३ मीटर रेलिङ निर्माण गरिएको छ ।
तर उक्त सिंधुवा बसन्तपुर सडक खण्डबाट सो डाँडासम्म जाने कच्ची बाटोको स्तरोन्नति हुन नसक्दा पर्यटकहरुलाई जान कठिन भएको सिंधुवा बजारका रुद्र थापाले बताए ।
उनले यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सिंढीसम्म जाने प्रवेश मार्गको सुधार र उक्त क्षेत्रका कालीपोखरी, सिंहदेवी मन्दिर जोड्ने बाटो सुधार तथा ग्राभेल गर्नुपर्ने माग गरे । त्यस्तै सिंधुवा बजारका सन्जोग लिम्बूले पनि फेसबुकमा हेरेर तराईबाट पर्यटकहरु आउने गरेपनि कच्ची सडकबाट मोटरसाईकल लान नसक्दा आफूहरुलाई गुनासो गर्ने गरेको बताए ।
उक्त क्षेत्रको पूर्वाधार बिकासका लागि करिब ४ करोड लाग्ने भए पनि हाल बजेट अभावमा थप निर्माण कार्य अगाडि बढाउन नसकिएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर दिम्बूले बताए ।
धनकुटाका पूर्व माननीय राजेन्द्र कुमार राईको पहलमा पटेक डाँडा पूर्वाधार विकासका लागि २०७५ सालदेखि ०७७ सालसम्ममा १ करोड ५७ लाख खर्च गरिएको छ । त्यस पश्चात् कोभिड–१९ का कारण थप योजना तथा बजेट अभावमा उक्त क्षेत्रको विकास हुन नसकेको गाउँपालिका अध्यक्ष लिम्बूले बताए ।
जिल्लाको छथर जोरपाटी गाउँपालिका, महहालक्ष्मी नगरपालिका र छथर गाउँपालिका तेह्रथुमको सिमानामा रहेको यस डाँडाको उचाई समुद्री सतहबाट २ हजार ७ सय २ मीटरको उचाई रहेको छ ।यस पटेक डाँडाबाट मकालु, कञ्चनजंघा लगायत विभिन्न हिमश्रृखला र प्रदेश नं. १ का विभिन्न जिल्लाका भू–भागको मनमोहक दृष्य हेर्न पर्यटकहरु आउने गरेका छन् ।