बराहक्षेत्र । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएर वितण्डा मच्चाइरहेको ‘मकुना’ नामको जंगली हात्तीको अवस्था जाँचबुझ गर्न आएको प्राविधिक टोलीले हात्तीको माद् (हात्तीको कञ्चटबाट निस्किने जैविक पदार्थ) घटाउने प्रक्रिया अघि बढाएको छ ।
हात्तीको प्रारम्भिक अवस्थाको निरीक्षण गर्दा अत्याधिक माद् खसिरहेको पाइएकाले पहिले माद् घटाउने प्रक्रिया अघि बढाउने निष्कर्षमा पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट आएका प्राविधिक टोली प्रमुख डा. अमिर सडौलाले जानकारी दिए । ‘हात्तीको अवस्थाबारे बुझ्न पहिले फिल्ड निरीक्षण ग¥यौं, हात्ती किन गाउँ पसिरहेको छ, अनुसन्धान ग¥यौं, हात्तीले माद् खाइरहेको रहेछ,’ डा. सडौलाले भने, ‘दिउँसो जंगलमै बस्ने रात परेपछि घरगाउँ पस्ने गरिरहेको रहेछ, माद घटाउन औषधि प्रयोग गर्ने प्रारम्भिक निष्कर्षमा पुगेका छौं ।’
डा. सडौलाले प्रारम्भिक अनुसन्धानले हात्ती बहुलाएको वा मानसिक अवस्था विछिप्त भएको नदेखिएको बताए । ‘सम्पूर्ण रुपले माद घटाउन चारपाँच दिन लाग्छ,’ डा. सडौलाले भने, ‘त्यसपछि पनि हात्तीले वितण्डा मच्चाउने अवस्था आए अन्य प्रक्रिया अवलम्बन गरिने छ ।’
राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट आएका प्राविधिक टोलीले ‘मकुना’ लाई नियन्त्रणमा लिई यसको अवस्था बुझ्ने काम गरिरहेको कोशी टप्पु वन्य जन्तु आरक्षका संरक्षण अधिकृत (वार्डेन) चन्द्रशेखर चौधरीले जानकारी दिए । यो प्रक्रियापछि एउटा निष्कर्षमा पुगिने वार्डेन चौधरीले बताए ।
वार्डेन चौधरीले ‘मकुना’ ले बारम्बार बस्ती पसी क्षति गरिरहेको जानकारी गराउँदा समेत राष्ट्रिय वन्य जन्तु विभागले हात्तीको अवस्थाबारे निरीक्षण गर्न प्राविधिक पठाएको थिएन । पछिल्लो पटक ०७७ मंसिर ६ गते र मंसिर २९ गते हात्तीको बिझाइँबारे वार्डेनले विभागमा पत्र पठाएका थिए । ‘हात्ती बहुलाएको हो भने मार्नेसम्मको कारबाही हुन सक्ने’ सुनसरीका सिडिओले समेत वक्तव्य दिएपछि विभागले प्राविधिक टोली पठाएको हो ।
जवान रहेको हात्ती यौन सम्बन्ध राख्ने बेलाको उत्तेजनामा हुन सक्ने सहायक वन संरक्षण अधिकृत तथा आरक्षका सूचना अधिकारी झौलाइ चौधरी बताउँछन् । ‘यो हात्ती कोशीटप्पुको रैथाने पुरानो हात्ती हो, आरक्षको घरपालुवा हात्तीलाई गर्भवती बनाएर संरक्षणमा यसको योगदान ठूलो छ, सूचना अधिकारी चौधरीले भने, ‘तीन वटा हात्तीबाट छावा दिइसकेको छ ।’
सूचना अधिकृत चौधरीका अनुसार प्राविधिक टोलीले ‘मकुना’ नियन्त्रणका लागि सात घण्टाको डोज दिएको बताए । उनले भने, ‘दाना पानी हालिदिएको छ, अहिले नियन्त्रित अवस्थामा छ ।’ अधिकृत चौधरीका अनुसार आरक्ष अतिक्रमित अवस्थामा छ ।
जंगली हात्तीले पर्याप्त खान पाउने अवस्था छैन । त्यसैले ‘मकुना’ गाउँघर पसिरहेको छ । ‘मान्छेले पनि सतर्कता अपनाउनु पर्छ,’ अधिकृत चौधरी भन्छन्, ‘यौन चाहाना त पालिएका हात्तीबाट पूरा गरिरहेको छ ।’ कञ्चटमा रहेको माद् फुटेर मुखमा परेपछि हात्तीको यौन चाहाना तीव्र हुने र बिझाइँमा उत्रने गरेको जानकारहरु बताउँछन् ।
आरक्षको तथ्यांक अनुसार ‘मकुना’ले हालसम्म ८ जनाको ज्यान लिइसकेको छ । २३ जनालाई गम्भीर घाइँते बनाएको छ । नेपाल बाहिर समेत ‘मकुना’ ले बिझाइ गरेको अपुष्ट तथ्यांक भने अझै बढी छ । यही ‘मकुना’ हात्तीको आक्रमणबाट सोमबार कोशी गाउँपालिका–६ का ३२ वर्षीय प्रमोद यादवको ज्यान गएको थियो । गँहुबारीमा पानी लगाउन जाने क्रममा बिहान साढे ५ बजे ‘मकुना’ले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
हात्तीले ज्यान लिएपछि स्थानीयले मंगलबार सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फडिन्द्रमणि पोखरेल, वार्डेन चन्द्रशेखर चौधरीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन–पत्र बुझाएका छन् । ज्ञापनपत्रमा पीडितले क्षतिपूर्ति चाँडो पाउनुपर्ने, पीडितको परिवारलाई रोजगारी दिनुपर्ने, मृतकका बच्चालाई उच्च शिक्षा दिनुपर्ने, क्षतिपूर्ति पचास लाख हुनुपर्ने, वितण्डा मच्चाउने हात्ती मार्नुपर्ने, ऐलानी जग्गा जोत्न पाउनु पर्ने, तारबारको ठाउँमा आरसीसी वाल लगाउनुपर्ने लगायतका माग राखेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १० को उपदफा (क) मा वन्यजन्तु बहुलाए वा हिंस्रक भए मार्न सक्ने भनिएको छ । स्थानीय प्रशासन ऐनले जनावर हिंस्रक भए गोली ठोकेर मार्ने अधिकार सिडिओलाई प्रत्यायोजन गरेको छ । सुनसरीका सिडिओले हात्ती नियन्त्रण गर्न सक्ने उपायबारे ‘मार्नसम्म सकिने’ वक्तव्य दिएपछि अधिकारकर्मीहरुले विरोध गरिरहेका छन् । पशुअधिकारकर्मी तथा संरक्षणकर्मीहरुले हात्ती मार्न नहुने र नियन्त्रणका विविध उपाय अपनाउनु पर्ने मत राखेका छन् ।