इलाम । जिल्लाकै पहिलो नगरपालिका रहेको इलाम नगरपालिकामा रहेको देशकै पहिलो चिया कारखाना नजिकै चिया कमाण्ड डाँडामा गजराजसिंह थापाको प्रतिक सहित इलाम चोक बजारमा चिया टिप्दै गरेको प्रतिमा निर्माण गरेको छ ।
नेपालमा विक्रम संवत् १९२० मा पहिलोपटक चीनबाट चियाको बिरुवा झिकाएर तत्कालीन इलामका बडाहाकिम गजराज सिंह थापाको पहलमा चिया बगान र चिया कारखानाको स्थापना भएको थियो । डेढ सताब्दी अघिदेखिका तीनै चियाका बुटाबाट इलाममा अहिले पनि चियापत्ती उत्पादन भइरहेको छ । नेपालमा चियाको विकास गरेर जिल्लालाई चिनाएको कारण उनको प्रतिक बनाइएको छ ।
इलाम नगरपालिकाले नेपालका राष्ट्रिय विभुति अरनिकोको नामबाट संग्रहालय निर्माण गरेको छ । सय वर्षभन्दा पुरानो राणाकालीन दरवारलाई अरनिको संग्रहालयको रुपमा विकास गरेको हो । संग्रहालयमा पूर्खाहरुले प्रयोग गरेका ढिकी, जाँतो, ठेकी, चर्खा, गरियो, पेचा, कोलजस्ता घरायसी सामग्री र पञ्चेबाजाहरुलाई राख्न थालिएको छ ।
जिल्लामा बसोबास गर्ने राई, लिम्बू, शेर्पा, लाप्चा, सुनुवार लगायत विभिन्न जातजातिले प्रयोग गर्ने सांस्कृतिक सामग्री, भेषभुषालाई पनि संग्रहित गरेको छ । संग्रहालयमा जातिय संस्कृतिका सामाग्री राख्ने र लोपोन्मूख सामग्रीहरु ल्याएर राख्ने काम भइरहेको छ ।
नगरपालिकाको वडा नम्बर सात स्थित नेपाल बैंक नजिकै शंखधर शाख्वाको प्रतिमा निर्माण गरेको छ । नगरपालिकाको मर्मत संहार कोषबाट नगरपालिका आँफै निर्माणको काम गरिरहेको छ । नेपालका राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक रहेका उनले नेपालीलाई ऋणबाट मुक्ति दिलाएका थिए । नेपाल सरकारले मिति २०५६÷८÷३ मा राष्ट्रिय बिभुती घोषणा गरेको थियोे ।
नगरपालिकाले पर्यटकीय स्थल सँगै शहरको सौन्दर्यकरण र राष्ट्रिय एकतालाई बल पुर्याउने उद्देश्यले प्रतिक निर्माण गरेको नगर प्रमुख महेश बस्नेतले बताए । नगरपालिकाले अव चाँडै पारीजातको शालिक निर्माण गर्ने र इलाम नगरपालिका ९ मा रहेको फाल्गुनन्द एयरपोर्टबाट शुरूहुने र सिद्धिथुम्का, लिङदिनटार, खात्रोक्पा महमाइ हुँदै माङसेबुङ सम्मको सडकको प्रस्थान विन्दुमा महागुरुको प्रतिमा सहितको स्वागत द्वार निर्माण गरिने बस्नेतले बताए ।
राष्ट्रिय बिभुति महागुरू फाल्गुनन्दको १ सय ३६ औ जन्मजयन्तीको अवसरमा महागुरू प्रति श्रद्धासुमन अर्पण र समस्त किरात धर्मावलम्बी दाजुभाइ दिदिबहिनीमा सद्भाव, मित्रता, एकता, सुख, शान्ती, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिँदै बस्नेतले फाल्गुनन्दको प्रतिमा सहितको स्वागतद्वार निर्माण गरिने बताएका हुन ।