विराटनगर । कोरोनाका कारण यतिबेला सिमावर्ती नेपाली क्षेत्रका बजार गुलजार भएका छन् । कोरोना भाइरसको महामारीका कारण प्रदेश १ का भारतीय सीमावर्ती बजार नजिकै सीमा सिल छन ।
यसको प्रत्यक्ष फाइदा स्वदेशी बजारमा परेको छ । ठूलो संख्यामा नेपाली पुग्ने र अधिक खरिददारी हुने जोगबनी बजारसम्म पुग्न कठिन भएपछि अहिले सीमा वारिका बजारमा चहल पहल बढेको हो ।
लकडाउनका कारण लामो समय बन्द रहेका नेपालतर्फको बजार र पसल खुलिसकेका छन् । यातायात पनि सूचारु भएका छन ।
नेपाली बजारमा बिस्तारै दशैंको चहलपहल समेत बढेको छ । व्यापारीका अनुसार भारतीय सीमा बन्द भएका कारण मानिसहरु स्वदेशी बजारमा किनमेल गर्न आउन थालेका छन । विगतमा जोगबनी बजारमा जानेहरू अहिले स्वदेशी बजारमै किनमेल गर्न थालेका छन । विराटनगरमा पनि दशैंको किनमेल गर्ने मानिसको भीड देखिन थालेको छ ।
पहिले जोगबनीसम्म पुगेर दशैं तिहारको किनमेल गर्नेहरु यतै अडिन थालेको व्यापारीहरूले बताएका छन । जोगबनीमा नेपाली ग्राहकले दैनिक रु.४ करोडसम्मको किनमेल गर्ने गरेको अनुमान लगाइन्थ्यो । विराट व्यापार संघका अध्यक्ष सुजन थापाले विराटनगरमा व्यापार विस्तारै बढ्ने अवस्था आएको बताए । सीमा सील भएकोले वारि नै किनमेल गर्न आउने मानिस दैनिक बढ्न थालेको उनले सुनाए ।
जलजला मोडका व्यापारी जबार साह स्वदेशी बजारमा चहलपहल संगै व्यापार पनि बढ्न थालेको बताउँछन् । लकडाउन र लामो निषेधाज्ञाका कारण समस्यामा परेका व्यापारीलाई केही राहत पुगेको साहको भनाई छ । विराटनगरमा साल्ट ट्रेडिङ कर्पोरेसन र केही पसलले ग्राहकलाई तान्न र आकर्षित गर्न सुपथ मूल्य सहितका योजना समेत ल्याएका छन ।
सुपरमार्केट र मलहरुमा पनि चहलपहल देखिन थालेको छ । विराटनगरमा लत्ताकपडा र उपभोग्य बस्तु किनमेल गर्न ग्रामीण भेगबाट मानिसहरू आउन थालेका छन । यस अघि भारत बिहारको जोगबनी र पश्चिम बंगालको पानीटंकी तथा सिलीगुडीसम्म नेपालीहरु दशैं किनमेल गर्न जाने गरेका थिए ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा अहिले स्वदेशी बजारलाई पहिलेकै अवस्थामा ल्याउन सहयोग पुग्ने वातावरण आएको बताउंछन । सरकारले व्यवसायीलाई हित हुनेगरी काम गर्न मुन्दडाले सुझाव दिएका छन ।
सस्तो मोलमा किनमेल गर्न पाउने आसमा भारतीय बजार जाने ग्राहक नेपाली बजारमै किनमेल गर्दा लकडाउनले पुगेको व्यापार घाटा कम गर्न सहज हुने व्यापारीको भनाइ छ ।