धरान । सर्दु खोलामा पुल बने पछि राहत मिलेको धरान २० स्थित विष्णुपादुकाका विद्यार्थीहरुलाई समेत घर बाटै विद्यालय धाउन सहज बनेको छ । वर्षाको समयमा धरानमै डेरा लिएर बस्नुपर्ने बाध्यता पनि हटेको छ ।
धरानका कलेज तथा विद्यालयमा अध्ययनरत विष्णुपादुकाका विद्यार्थीहरु अहिले सहज रुपमा घरबाटै धाउन सक्ने भएका छन् । वर्षामा सर्दु खोलामा आउने बाढीका कारण उनीहरु डेरा लिएर बस्ने गरेका थिए । पुल संचालनमा आए पछि डेरामा बस्नु पर्ने र अनावश्यक खर्च समेत कटौति भएको स्थानीय ओम सुच्चा राई बताउँछन् । उनले भने, अहिले डेरा बस्नु पर्ने, डेरा बस्दा हुने अनावश्यक खर्च समेत जोगिएको छ, उनीहरु अहिले घरबाटै विद्यालय धाउन सक्ने अवश्थामा छन् ।’
औपचारिक रुपमा सर्दु खोलामा बनेको पुलको उदघाटन नभए पनि पुलको उपयोग स्थानीयले गर्न थाले पछि विष्णुपादुकावासीहरुले धरान उपमहानगरपालिकावासी भएको पनि महशुष गरेका छन् ।
साविक विष्णुपादुका गाविस २०७० सालमा धरान उपमहानगरपालिकामा गाभिए पनि विष्णुपादुकाका जनताको अवस्थामा भने खासै परिवर्तन आउन सकेको थिएन । विष्णुपादुकाबासी बर्षादको समयमा बर्षेनी आफ्नै उपमहानगरपालिकासग सम्बन्ध विच्छेद झै हुन्थ्यो । अहिले पुल निर्माण भएपछि भने उनीहरुले उपमहानगरपालिकावासी भएको महशुस मात्र गरेका छ्रैनन् आफूले उत्पादन गरेको कृषिजन्य वस्तु धरानसम्म ल्याएर विक्री समेत गर्न सहज भएको छ ।
पुल संचालनमा आए पछि अहिले धरान उपमहानगरपालिकाको विष्णुपादुका सहित धनकुटाको आहाले, गढि गाउपालिकावासीहरु पनि लाभान्वीत भएका छन् । पुल बने पछि शिक्षा, स्वास्थ्य, पर्यटन अनि कुराहरुमा समते टेवा पुगेको राईको भनाई छ । उनले भने, कृषिमा विष्णुपादुका, आहाले निर्भर क्षेत्र हुन्, कृषिको सामग्रीहरु सजिलैसँग वर्खामा धरान बजार लग्न टेवा पुगेको छ, घरबाटै धरानको विद्यालयहरुमा पुग्न सकेका छन् ।’
विद्यार्थीहरु धरान बजारमा डेरा लिएर बस्नु पर्ने बाध्यता पनि हटेको उनले बताए । शैक्षिक, स्वास्थ्य सेवामा समेत पहुँच सहज भएको उनको भनाई छ । पुलले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको उनले बताए ।
दुई वर्ष अघि देखि स्वीस सरकारको सहयोगमा संघीय बजेटबाट कार्की बन्धु कन्ट्रक्सनले ८ करोड ३२ लाखमा बनाउन थालेको हो । धरान ११ मंगलबारे चोक हुदै विष्णुपादुकाको भञ्ज्याङ निस्कने बाटोलाई यो पुलले जोडेको छ । १ सय २१ मटर लम्बाई रहेको यो पुल निर्माण सम्पन्न भएसंगै खोलामा आएको बाढीले निम्तिने समस्या हटेर गएको वडा २० का वडाअध्यक्ष मणिराम राईले बताए ।
पुल औपचारिकरुपमा उद्घाटन भने भएको छैन । तर, जनताको आवश्यकतालाई बुझेर पुल सञ्चालनमा ल्याइएको छ । पुल निर्माण भएपछि अहिले विष्णुपादुका क्षेत्रका स्थानीयको जीवनयापन नै सहज भएको छ । धनकुटा क्षेत्रका स्थानीयलाई पनि धरान बजर सम्म कृषि उत्पादन ल्याउन जोडिदिएको छ ।