दुहबी / नेपालमा ताराई मधेशमा बसोवास गर्ने मधेसी जनजाति, दलित र उच्चवर्गका महिलाहरुले मनाउने जितिया पर्व विधीवत रुपमा शुरु गरेको छ । जितिया पर्व आज देखि शूरु भई ३ दिन समम मनाउने गरीन्छ ।
यो पर्व ठाउँ विषेश अनुसार फरक–फरक हुन्छ । कतै विवाह पश्चिात महिलाहरु जितिया पर्वको उठान अर्थात शुरुवात गर्दछन् भने कतै विवाह पश्चित सन्तान प्राप्ति पछि मात्र जितिया पर्व शुरु गर्दछन् । जितिया पर्वको लागि उपवास बस्ने महिलाहरुले घर आगन लिपपोत गरी विहान नदी, कुवा, पोखरी, ट्यूवेल लगायत स्थानमा खल्ली, तोरीको तेल, सिन्दुर, केराको पात, तुलसीको पात, अगरवत्ती सामग्रीहरु लिएर स्नान गर्ने ठाउँमै पुजापाठ गरी जितिया पर्वको आरम्भ गरिन्छ ।
त्यस पश्चित दिनभरी मिठा–परिकारका खानाहरु खने रमाइलो गर्ने बेलुका पख व्रतालुहरु घिरौंलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाइ पुजा सुरु गर्छन् । त्यसपछि सुर्योदय हुनुपूर्व विशेषगरी माछा, दही, चिउरा, ओल, मिष्ठान लगायतको परिकार खाने गरिन्छ । दिन भरको खान पिन पछि फेरी सुर्यउदाय हुनुभन्दा ३÷४ घण्टा पहिले स–परिवार भोजन गर्ने प्रचलन रहेको छ जसलाई ‘ओड्गन’ भनिन्छ । भोलि अष्टमीका दिन चराचुरुङ्गी कराउनु अगावै सुर्य उदाउनु पूर्व ओटगन खाएर सुरु गरिएको व्रतमा ब्रतालुहरु दिनभर, रातभर उपवास बस्ने गर्दछन् ।
उपवास बसेको भोलीपल्ट विहान ‘पारन’ अर्थात पुजापाठ गरी शुरुमा तुलसीको पात खाएर अनी मात्र भोजन गरी जितिया पर्व सम्पन्न हुन्छ । सन्तानको दीर्घ जीवन, पुत्रप्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत रहेको छ । राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जितमाहान नामाकरण गरी राजाको सम्झनामा उपवास बसेको पौरानिक कथा छ ।