इटहरी । जिल्ला प्रशासनको कार्यालय सुनसरीले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ १८ गते बिहीबार बिहान ७ बजेदेखि १० बजे सम्म जिल्ला भरीका ब्यवसाय सञ्चालन गर्न अनुमति दिएपनि धेरै जसो व्यवसायीहरूले अपेक्षित रुपमा व्यवसाय खुल्ला गरेनन् ।
चाडपर्वको मुखमा तिन घण्टा समयसिमा तोकेर ब्यवसाय गर्न प्रशासनले दिएको अनुमति ब्यवसायी देखि स्थानीय सरकार सम्मले असन्तुष्टी जनाउदै आएका छन् । इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गौतमले छोटो समय तोकेर ब्यवसाय खोल्दा भिडभाड बढने र त्यसले जोखिम बढाउने हुँदा प्रशासनले साँझ ५ बजे सम्म सुरक्षा सतर्कता अपनाएर ब्यवसाय सुचारू गर्न पाउनुपर्ने धारणा राखेकि छिन् ।
त्यस्तै इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम पौडेलले पनि चाडपर्वको मुखमा ब्यवसायीहरूलाइ निरास बनाउन नहुने बताउदै प्रशासनले पनि बिहान ७ बजे देखि साँझ ६ बजे सम्म सावधानी अपनाएर ब्यवसाय सुचारू गर्न दिनुपर्ने र नियमित अनुगमन गर्नुपर्नेमा जोड दिएका छन ।
सुनसरीमा निषेधाज्ञा खुकुलो भए पनि धेरैजसो ब्यवसायीहरूले बिहीबार ब्यवसाय सुचारू गरेका छैनन् । सुनसरीको इटहरीमा आधा जसो मात्रै पसल खुले ।
तर खुल्ला भएका पसलहरु पनि सुनसान झै देखिन्थे । हिन्दुहरूको महान पर्व बडा दशै र तिहार नजिकिदै जादा प्रसाशनले सिमित समय तोकेर ब्यवसाय सुचारू गर्न अनुमति दिएपनि समय अपुग भएको र यसो गर्दा ब्यवसाय झन ओरालो लाग्ने इटहरीका ब्यवसायीहरूको भनाइ छ । ब्यवसाय सुचारू गर्दा बिहान देखि साझ ६ बजे सम्म सुरक्षा सतर्कता अपनाएर गर्न पाउनुपर्ने इटहरीका व्यवसायीहरूको माग छ ।
बिगतको वर्षहरूमा दशै नजिकिएसंगै किनमेलका लागि भिड हुने नाम चलेका पसलहरू, सपिङ कम्प्लेक्स लगायत ब्यापारीक महलहरू कोरोनाको कहरले ग्राहकहरू नआएको गुनासो गर्छन् ।
इटहरीका सेन्ट्रल प्लाजाका सञ्चालक राजेश श्रेष्ठले अहिले खासै कारोबार नभएको बताउँछन् । कोरोनाको कारण ब्यवसाय चौपट बनिदिदा बैंकको किस्ता तिर्न पनि गाह्रो भइरहेको उनको भनाइ छ ।