इलाम/ जिल्लाको माङसेबुङ गाउँपालिका वडा नम्बर २ का तत्कालिन सचिव सुलभ दाहालले ५ महिनाअघि लिएको सोही वडाका जेष्ठ नागरिक हरिबहादुर श्रेष्ठको भत्ता उनका छोरा धनप्रसाद श्रेष्ठलाई बुधबार फिर्ता गरेका छन ।
भर्पाईमा हस्ताक्षर गरि बुझिलिएर आफैंले चलाएको जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वडा सचिवले सम्बन्धित जेष्ठ नागरिकलाई फिर्ता गरेका हुन ।
उनले हरिबहादुरको संरक्षक बसेका छोरा धनप्रसादलाई २ नम्बर वडा कार्यालयम बोलाएर १२ हजार रुपैयाँको चेक उपलब्ध गराएका हुन् । वडा सचिव दाहालले श्रेष्ठको २०७६ को दोश्रो चौमासिकको १२ हजार रुपैयाँ बुझिलिएर निजलाई उपलब्ध गराएका थिएनन् ।
आफैंले बुझिलिएको सामाजिक सुरक्षा भत्ता वडा सचिव दाहालले सम्बन्धित जेष्ठ नागरिकलाई उपलब्ध नगराएको समाचार कोशिपत्रमा प्रकाशित भएपछि सचिवले बुधबार फिर्ता गरेका हुन् ।
‘माङसेबुङमा जेष्ठ नागरिकको सासु भत्ता वडा सचिवको गोजीमा’ शीर्षकमा मंगलबार कोशिपत्रमा समाचार प्रकाशित भएको थियो । दाहाल हाल माङसेबुङ गाउँपालिका ३ नम्बर वडामा कार्यरत छन् ।
यता दोश्रो चौमासिकको भत्ता छुटेको पूर्णमाया र जयमंगलले नपाउने भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले पूर्णमाया र जयमंगलको छुटेको चौमासिकको रकम नआउने बताएका छन । ‘एक चौमासिकमा अनुपस्थित भएर फिर्ता गराएका जतिको विवरण सहित अर्को चौमासिकका लागि वडा कार्यालयले पुनःमाग गर्नुपर्दथ्यो तर वडाले माग्नु भएन रहेछ’ प्रमुख प्रशासकीय अधिर्कत सुवेदीले भने, ‘अब आर्थिक वर्ष परिवर्तन भइसकेको छ । कानुनी जटिलताका कारण उहाँहरुको छुटेको चौमासिकको भत्ता माग गर्न सकिदैन ।’