फाइल फोटो
धनकुटा, २४ साउन ÷अविरल बर्षाका कारण धनकुटाको सहिदभूमि गाउँपालिकामा आज दिउँसो एक घर बगाएको छ ।
निरन्तरको वर्षाका कारण सहिदभूमि गाउँपालिका–६, आँखिसल्लाका मानबहादुर रानामगरको घर बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ढुंगा माटोले बनेको फुसको छाना भएको एक तले घर माथिबाट पहिरो आएर बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । पहिरोले रानामगरको घर बगाउँदा पूर्णरुपमा क्षति भएको छ । उक्त घर बगाउँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, नगद १५ हजार, एक तोला सुन, दुई तोला चाँदी गरी करिब ४ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।
दिउँसो १२.३० बजेको समयमा पहिरोले घर बगाएको हुदाँ मानवीय तथा चौपाया कुनै पनि प्रकारको क्षति हुन भने नपाएको प्रहरीले बताएको छ । घटना पश्चात् आँखिसल्ला प्रहरी चौकीको टोली र स्थानीयले पीडित परिवारको उद्दार गरेका थिए । घरमा श्रीमान् र श्रीमति मात्र बस्दै आएका थिए । पहिरोले घर बगाएपछि अहिले उनीहरु छिमेकीको शरणमा बस्दै आएका छन् ।