विराटनगर । विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल) का संक्रमित चिकित्सकको सम्पर्कमा रहेका चार जना नर्सलाई पनि कोरोना देखिएको छ ।
संचालक चिकित्सकलाई कोरोना भएपछि अस्पतालमा कार्यरत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षण गर्दा थप चार जनामा संक्रमण पुष्टि भएको हो ।
विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने,“अस्पताल सञ्चालक तथा चिकित्सक डा.ज्ञानेन्द्रमान सिंह कार्कीलाई संक्रमण देखिएपछि उहाँको सम्पर्कमा रहेका २ सय २७ जनाको स्वाब संकलन गरेर परीक्षणमा पठाएका थियौं । ” महानगरले अस्प्ताल सिल गरेको छ । चिकित्सक कार्की भने उपचारका लागि धरानबाट हेलिकप्टर चार्टर गरी शनिबार नै टिचिङ अस्पताल काठमाडौ पुगेका छन् ।
महाशाखाका प्रमुख कार्कीका अनुसार ५८ जनाको रिपोर्ट आउँदा चार नर्समा कोरोना पोजेटिभ देखिएको हो । ती नर्सको २६ जना सम्र्पकमा रहेको खुल्न आएकोले उनीहरुको पनि कोरोना परीक्षण गर्ने तयारी थालिएको छ ।
एक जना संक्रमित नर्स विराटनगरको कोशी अस्पतालमा पनि कार्यरत थिइन । गाइनो विभागकी नर्ससमेत संक्रमित देखिएपछि कोशी अस्पतालमा सो विभागको पोस्टनाटल वार्ड सिल गरिएको छ ।
कोशी अस्पतालका मेसु चुमनलाल दासले पोस्टनाटल वार्डलाई सिल गर्ने निर्णय भएको जानकारी दिएका छन् । भने,“कार्यरत नर्स, स्वास्थ्यकर्मी र बिरामीको पनि स्वाब संकलन गर्दैछौं ।” कोशी अस्पताल सरुवा भई सप्तरीबाट आएका अर्का एक चिकित्सकमा पनि कोरोना संक्रमण देखिएको छ । उनलाई कोशी कोभिड अस्पताल भर्ना गरिएको छ ।