धनकुटा / निरन्तरको अविरल बर्षाका कारण धनकुटा जिल्लामा ५ घर विस्थापित भएका छन् ।
अविरल वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका–५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका–१ हिलेका २ घर विस्थापित भएका हुन् । पहिरोका कारण धनकुटा नपा–१ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए ।
त्यस्तै पहिरोका कारण महालक्ष्मी नगरपालिका–५ लेगुवाका दिपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वँज राईको परिवार विस्थापित भएका छन् । उनीहरुलाई अन्य स्थानमा स्थान्तरण गरिएको छ ।
यता साँगुरीगढी गाउँपालिका–७ लेउती र गर्जुवा खोलामा आएको बाढीले दुवै खोलाको संगम स्थलमा रहेको ९ घर परिवारको बस्ती उच्च जोखिममा परेको छ । खोलामा आएको बाढीले घर नजिकै छेउको जमिन धमाधम कटान गरेपछि बस्ती जोखिममा परेको हो । खोलामा पानीको बहाव बढी रहेकोले त्रास रहेको स्थानीय यामबहादुर राईले बताए । गर्जुवा खोलामा माटो सहित आएको बाढीले धरान–धनकुटा कोशी राजमार्ग समेत पटक–पटक अवरुद्ध हुदै आएको डिभिजन सडक कार्यालय धनकुटाका सुपरभाइजर अमृता राईले बताईन् ।
पानी पर्ने बित्तिकै गर्जुवाको मुहानमा पहिरो जाने र सोही पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको हो । सोमबार दिउँसो खोलामा आएको बाढीले धरानबाट धनकुटा आउँदै गरेको धनकुटा नगरपालिकाको को. १ झ ५८४ नम्बरको गाडी आधा भाग पुरेको थियो । सडक डिभिजन कार्यालयको पहिरो पन्छाउन परिचालन गरेको डोजरको सहायताले गाडी निकालिएको गाडीमा सवार धनकुटा नगरपालिकाका कार्यक्रम संयोजक सिताराम गौतमले बताए । निरन्तर वर्षासँगै पहिरोले छिन–छिनमै बाटो अवरुद्ध भई रहने र डोजरले खुलाउने काम भइरहेको छ ।