धरान । बैदेशिक रोजगारी बाट फर्किएर धरानका विभिन्न क्वारेन्टाइन मा बसेका ७० जनाको रिपोर्ट नेगेटिभ आए पछि सबै जना घर फर्किएका छन ।
एक स्वास्थ्यकर्मी र २ जना सुरक्षकर्मी सहित धरानमा एन्फा एकेडेमी, होम र होटल क्वारेन्टाइनमा रहेका ७० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । दुई दिनअघि एन्फा क्वारेन्टाइनमा उनिहरुको स्वाब संकलन गरिएको थियो । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । रिपोर्ट नेगेटिभ आएका ७० जना मध्ये ४० जना एन्फा क्वारेन्टाइनमा थिए भने १५ जना होटल र १२ जना होम क्वारेन्टाइनमा थिए ।
यस्तै, एक जना ल्याब टेक्निसियनको पनि पिसिआर गरिएको थियो भने २ जना क्वारेन्टाइन सुरक्षामा खटिएका नेपाली सेनाको पनि परीक्षण गरिएको थियो । बुधबार पनि धरानमा क्वारेन्टाइनमा रहेका थप २८ जनाको स्वाब संकलन गरिएको छ ।