धरान । धरान उपमहानगरपालिकाको सातौं नगरसभाको बुधबार (आज) ११ बजे बस्ने भनेको बैठक १ बज्दा सम्म हुन सकेको छैन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा हुने नगरसभामा मेयर, उपमेयर सहित केही कार्यपालिका सदस्यहरु छलफलमा व्यस्त हुँदा तोकिएको समयमै बैठक शुरु हुन नसकेको हो ।
नगरसभामा खेलकुद समितिको बजेट र खानेपानी संस्थान तथा आयोजना मर्ज गर्न जिम्मा लिने बिषयमा आवश्यक सहमति जुटाउन मेयर सहित उपमेयर र केही कार्यसमिती सदस्यहरु छलफलमा रहेकाले सभामा ढिलाई भएको एक वडाअध्यक्षले बताए ।
असार १० गते उदघाटन भएको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा साउन १ गतेदेखि खानेपानी संस्थान र खानेपानी आयोजना बोर्डले जिम्मा लिएर पानी वितरणको व्यवस्थापन गर्ने भनिएको छ । तर, मेयर तिलक राई भने तत्काल जिम्मा नलिने र विज्ञ टोली गठन गरेर छानबिन गर्ने पक्षमा उभिए पछि सहमती जुटाउन छलफल भइरहेको छ ।
नेकपा भने तत्काल दुवै संरचना जिम्मा लिएर बोर्डले खानेपानी वितरण गर्नुपर्ने पक्षमा छ । त्यसैले आवश्यक सहमति जुटाउन सभा बैठकअघि छलफल भएको हो ।
आगामी आर्थिक बर्षको लागि खेलकुदतर्फको बजेटमा स्कुल ओलम्पिक मेयर कपमा १ लाख २५ हजार मात्र बजेट विनियोजन गरिएको छ । यो बिषयमा पनि आज नगरसभा बैठकमा नेकपातर्फका सदस्यहरुले प्रमुखताका साथ कुरा उठाउने भएका छन् ।