‘अन्तर्राष्ट्रिय जगतको ढोका खोलिदिने हुनाले यो कार्यक्रम अत्यन्तै उपयुक्त छ’

  • असार ३०, २०७७
  • कोशीपत्र/संवाददाता
alt

अन्तर्राष्ट्रिय स्तरको ए लेभलको कार्यक्रम धरान–१४ को विजयपुर इङ्लिस बोर्डिङ स्कुलमा सञ्चालन भइरहेको छ । विजयपुर आफैँमा यस क्षेत्रको प्रसिद्ध विद्यालय हो । विजयपुरमा यस कार्यक्रमका कोअर्डिनेटर रमेश निरौला हुन् । उनी वि.सं. २०६२ (सन् २००५) बाट नै यस क्षेत्रमा सक्रिय छन् । २०५५ सालमा प्रवेशिका (एसएलसी) परीक्षा उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौँ गए । त्यस बेला सीमित विद्यालयहरूले यो कार्यक्रम सञ्चालन गरिरहेका थिए । त्यसै क्रममा ए लेभलका शिक्षकहरूसँग सम्पर्क भएपछि उनले यस कार्यक्रमबारे जानकारी पनि लिन थाले । तिनै शिक्षकहरूको प्रेरणाबाट उनी बिस्तारै यस क्षेत्रमा आएका हुन् ।

कोअर्डिनेटर निरौलाले यस क्षेत्रमा लामो अनुभव लिएका छन् । २०६२ देखि २०६७ सम्म प्रोग्राम कोअर्डिनेटरका रूपमा काम गरेका उनले २०६८ मा आफ्नै कम्पनी स्थापना गरेर यो कार्यक्रमलाई अगाडि बढाए । कोअर्डिनेटर निरौलासँग कोशीपत्रले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

१.ए लेभल भनेको कुन स्तरको पाठ्यक्रम हो ? अर्थात् यसमा भर्ना हुन आवश्यक शैक्षिक योग्यताको तह र ग्रेड कति हो ?

ए–लेभल नेपालमा कक्षा १२ सरहको पाठ्यक्रम हो । नेपालमा एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूले यसमा भर्ना हुन पाउँछन् । विदेशी बोर्डअनुसार आईजीसीएसई, ओ लेभल, सीबीएसईपछि ए लेभलमा भर्ना हुन पाउने व्यवस्था छ । नेपालमा अहिले ग्रेडिङ सिस्टमभएकोले मार्कसीटमा पास र फेल उल्लेख नहुने भएका कारण एसईई सकेका सबै विद्यार्थी ए लेभलमा भर्ना हुन योग्य नै हुन्छन् तर हामी भने सबै विद्यार्थीलाई भर्ना लिँदैनौँ । हामीले लिने प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थीलाई मात्र भर्नाका लागि योग्य मान्छौँ ।

२.यस्तो किन गर्नुभएको हो ? 

यसो किन गरिएको हो भने हाम्रो देशमा एसईईसम्म घोकाइलाई प्राथमिकता दिने प्रवृत्ति छ । त्यसकारण एसईईमा राम्रो ग्रेड ल्याउने विद्यार्थीले पनि ए लेभलमा कम ग्रेड ल्याएको विगतका परिणामले देखाएका छन् । त्यसैले घोक्नेभन्दा बुझेर पढ्ने विद्यार्थीले ए लेभलमा धेरै राम्रो गर्न सक्छन् ।

३. यो कुन संस्थाअन्तर्गत सञ्चालित कार्यक्रम हो ?

ए लेभल बेलायतको क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत क्याम्ब्रिज इन्टरनेशनल ए–डयामिनेसन बोर्ड (सीआईई) ले चलाउने जनरल सर्टिफिकेट अफ एजुकेशन (जीसीई) को शैक्षिक कार्यक्रम हो । क्याम्ब्रिज विश्वविद्यालयका विभिन्न कार्यक्रममध्ये यो एक महत्वपूर्ण कार्यक्रम हो । सन् २०२० को विश्वविद्यालय ¥याकिङअनुसार क्याम्ब्रिज विश्वकै तेस्रो स्थानमा रहेको छ । ए लेभल संसारभरिका १६० वटा देशमा एउटै पाठ्यक्रममा सञ्चालित छ । यसको अर्थ के हो भने सिङ्गापुरको विद्यार्थीले जुन पाठ्यक्रम पढ्छ, नेपालको विद्यार्थीले पनि त्यही पाठ्यक्रम पढ्नुपर्छ र विद्यार्थीको प्रतिस्पर्धा संसारभरि एउटै परीक्षा प्रणालीअन्तर्गत हुने गर्छ ।

४. धरानमा ए लेभलको कार्यक्रम सञ्चालन गर्नुभएको दुई वर्ष भयो । विद्यार्थी र अभिभावकहरूबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

धरानमा यो कार्यक्रम सञ्चालन गरेको दोस्रो वर्ष भयो । पहिले त अभिभावकहरूले यो पाठ्यक्रमअन्तर्गत पढ्न विद्यार्थीहरूले सक्छन् कि सक्दैनन् भनेर शंका गर्नुभएको थियो तर अन्तिम परीक्षामासबैको राम्रै ग्रेड आएपछि उहाँहरू छक्क नै पर्नुभएको छ । हामी घोकाउने शैलीमा नभएर बुझाएर पढाउँछौँ । त्यसैले यसमा ढुक्क भए हुन्छ । ए लेभल कोर्सबारेको बुझाइमा भने पक्कै केही कमी छ । सबैले यसबारे राम्ररी बुझ्नुभएको छैन । प्रत्यक्ष कुराकानी गरेपछि चाहिँ उहाँहरू ढुक्क हुनुभएको छ ।

५. ए लेभलको विशेषता के हो ?

ए लेभलका थुप्रै विशेषता छन् । यसमा अङ्ग्रेजीबाहेक आफुलाई मन परेको जुनसुकै विषय रोजेर पढ्न पाइन्छ । कम्तीमा तीनओटा विषय उत्तीर्ण गरेका विद्यार्थी विश्वको कुनै पनि विश्वविद्यालयमा भर्नाका लागि योग्य हुन्छन् । विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउने हुनाले यसले विद्यार्थीलाई अवसरको ढोका खोलिदिन्छ । विश्वका १६० देशमा पढाइ हुने ए लेभलको परीक्षा प्रणाली र ग्रेडिङ प्रणाली पनि विश्वभरि नै एउटै मापदण्डको हुन्छ ।

मे-जुन र अक्टुबर-नोभेम्बर गरी वर्षको दुईपटक विश्वभरि नै एकैपटक परीक्षा सञ्चालन हुन्छ र नतिजा पनि सोहीअनुसार अगस्ट र जनवरीमा प्रकाशन हुन्छ । विद्यार्थी आफु पूर्ण रूपमा तयार भएको विषयको मात्र परीक्षा दिन पाइने भएकाले राम्रो ग्रेड ल्याउन सजिलो हुन्छ । आफु सक्षम भएको विषयको परीक्षा पहिले दिएर बाँकी विषयको परीक्षा छ महिनापछि दिए पनि हुन्छ । कुनै विषयमा चित्तबुझ्दो अङ्क नआएमा त्यो विषयको मात्र पुनः परीक्षा दिएर राम्रो अङ्क ल्याउन पनि सकिन्छ ।

ए लेभल उतीर्ण गरेपछि विद्यार्थीले विश्वको कुनै पनि विश्वविद्यालयमा स्नातक तहको अध्ययनका लागि आवेदन दिन पाउँदछन् । यसको अन्तर्राष्ट्रिय ख्यातिका कारण विद्यार्थीहरूलाई विश्वका अति राम्रा कलेजमा भर्ना तथा छात्रवृत्ति पाउन सजिलो हुन्छ । यसमा विद्यार्थीलाई घोकाएरभन्दा बुझाएर पढाउने गरिन्छ अर्थात् विद्यार्थीले कति पढ्यो भन्दा पनि कति बुभ्mयो भन्नेलाई महत्व दिइन्छ ।

६. नेपालमा सञ्चालित ११–१२ र यस कार्यक्रममा के भिन्नता छ ?

११–१२ र ए लेभलमा धेरै नै भिन्नता छन् । मैले अघि नै भनिसकेको छु, ए लेभलको पाठ्यक्रम विश्वका १६० देशमा पढाइ हुन्छ र यसमा विद्यार्थीको प्रतिस्पर्धा विश्वभरिकै विद्यार्थीहरूसँग हुने गर्छ । क्याम्ब्रिज विश्वविद्यालयले प्रत्येक वर्ष विषयअनुसार ‘नेपाल टप’ र ‘वल्र्ड टप’ विद्यार्थीको नामसमेत घोषणा गर्ने गर्दछ । नेपालबाट पनि वर्षेनी उत्कृष्ट विद्यार्थीले ‘नेपाल टप’ र ‘विश्व टप’ को उपाधि पाएका छन् ।
११–१२ मा भने नेपालभरि मात्र प्रतिस्पर्धा हुने गर्छ भन्ने हामी सबैलाई थाहा नै छ । दुःखका साथ भन्नुपर्छ– सन् २०२० को विश्वविद्यालय ¥याकिङअनुसार हाम्रो त्रिभुवन विश्वविद्यालय २०० औँ स्थानमा पनि पर्न सफल भएको छैन भने क्याम्ब्रिज विश्वविद्यालय संसारको तेस्रो स्थानमा छ । के भिन्नता छ भन्ने यसैबाट प्रष्ट हुन्छ ।

त्यसैगरी, १२ उत्तीर्ण विद्यार्थी र ए लेभल उत्तीर्ण विद्यार्थी देशबाहिर स्नातक अध्ययन गर्न जाँदा विदेशी विश्वविद्यालयले गर्ने छनोट प्रक्रिया र छात्रवृत्ति प्रक्रियामै फरक हुने गर्छ । यहाँको १२ उत्तीर्ण विद्यार्थीलाई विदेशका राम्रा विश्वविद्यालयहरूले सजिलै लिँदैन । यस्ता विद्यार्थीलाई कम्तीमा ६ महिनाको आप्mनो फाउन्डेसन कोर्सपढाएर त्यसको परीक्षा लिएपछि मात्र विश्वविद्यालयको पाठ्यक्रममा प्रवेश गराउँछ भने ए लेभल उत्तीर्ण विद्यार्थीले सोझै विश्वविद्यालयको पाठ्यक्रममा प्रवेश पाउँछ, उसले फाउन्डेसन कोर्स पढ्नु पर्दैन । आजसम्मको रेकर्डअनुसार १२ उत्तीर्ण विद्यार्थीभन्दा धेरैजसो ए लेभल उत्तीर्ण विद्यार्थीले छात्रवृत्ति पाइरहेका छन् ।

७. ए लेभलमा भर्ना हुने र परीक्षा दिने प्रक्रिया कस्तो छ ? 

यसमा भर्ना हुन एसईई परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । विदेशी बोर्डको हकमा भने भारतीय बोर्डको सीबीएसई, क्याम्ब्रिज बोर्डको आईजीसीएसई अथवा ओ लेभलउत्तीर्ण हुनुपर्छ । त्यसपछि हामीले लिने प्रवेश परीक्षामा कम्तीमा ४० प्रतिशतअङ्क ल्याउनुपर्ने हुन्छ । कक्षा ११–१२ जस्तै यो पनि २४ महिने कोर्स हो तर यसको परीक्षा प्रणाली ११–१२ भन्दा भिन्न हुने गर्छ । ए लेभलमा वर्षमा दुईपटक विश्वभरि एकैपटक र एकै समयमा परीक्षा सञ्चालन हुने गर्छ । आफु पूर्ण रूपले तयार भएको विषयमा मात्र पनि परीक्षा दिन पाइन्छ । यसबारे अघि नै भनिसकेको छु । यसले गर्दा विद्यार्थीलाई राम्रो अङ्क ल्याउन सजिलो हुन्छ । कम अङ्क आएको विषयमा ६ महिनापछि पुनः परीक्षा दिन पाइन्छ । यसको परीक्षा प्रणाली क्याम्ब्रिज विश्वविद्यालयको मातहत रहन्छ । परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्मका सम्पूर्ण काम क्याम्ब्रिज विश्वविद्यालयले गर्छ ।

८. त्यसो भए यसको खर्च त निकै महङ्गो होला ? सर्वसाधारण नेपालीले व्यहोर्न सक्छन् त ?

मलाई व्यक्तिगत रूपमा के लाग्छ भने अभिभावकले आफ्ना सन्तानको शिक्षामा गरेको लगानी शायद खेर जाँदैन । विकसित मुलुकहरूको भन्दा हाम्रो मुलुकको रुपैयाँको विनिमय दर कम भएर अलि महङ्गो देखिन सक्छ । नेपालमा ए लेभल सञ्चालन भएका शिक्षण संस्थाहरूमा खर्चमा एकरूपता भने छैन । नाम चलेका शिक्षण संस्थाहरूमा अलि महङ्गो नै छ तर हामीले भने सर्वसाधारण सबै योग्य नेपाली विद्यार्थीहरूले पढ्न सकून् भनेर उचित शुल्क निर्धारण गरेका छौँ । ए लेभलको परीक्षा दस्तुर भने संसारभरि नै एउटै हुन्छ ।

९. यो अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम हो । नेपाली विद्यार्थीहरूका लागि यो कतिको उपयुक्त छ ?

हो, यो अन्तर्राष्ट्रिय स्तरकै पाठ्यक्रम हो । नेपालमा यो कोर्स २०३९ सालमा बुढानीलकण्ठ स्कुलबाट शुरु गरिएको हो । त्यो समयमा राजपरिवार र राणा परिवारका छोराछोरीहरूका लागि मात्र ब्रिटिस सरकारले यो कार्यक्रम चलाएको हो । पछि बुढानीलकण्ठ स्कुल तत्कालीन सरकारलाई हस्तान्तरण गरियो । त्यसपछिका केही वर्ष सर्वसाधारण जनताका छोराछोरीलाई पनि जिल्ला–जिल्लाबाट छनोट गरी लगेर पठनपाठन गराइयो । यो क्रम राजा वीरेन्द्रले नै शुरु गरेको कुरा प्रकाशमा आएको पनि थियो । २१ औँ शताब्दीमा ए लेभल कोर्स नेपाली विद्यार्थीहरूका लागि कतिको उपयुक्त छ भन्ने यसैबाट प्रष्ट हुन्छ । ए लेभलले हाम्रा विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय जगत्को ढोका खोलिदिने हुनाले यो अत्यन्तै उपयुक्त छ । आजको समयमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति निर्माणका लागि पनि अन्तर्राष्ट्रिय स्तरको यस्तो पाठ्यक्रम महत्वपूर्ण हुन्छ ।

१०. यो कार्यक्रम सञ्चालनका लागि तपाईंले धरानलाई नै किन रोज्नुभयो ?

करीब १४ वर्ष त मैले काठमाडौँमा यो कोर्ससँग सम्बन्धित भएर काम गरेँ । त्यस क्रममा पूर्व क्षेत्रका प्रत्येक जिल्लाबाट सयौँको सङ्ख्यामा विद्यार्थीहरू काठमाडौँ पुगेको देखेँ । पूर्वका विद्यार्थीहरूले यसका लागि काठमाडौँ नै जानुपर्ने बाध्यता देखेपछि धेरै वर्षको अथक प्रयास, संवाद र छलफलपछि यसका लागि धरान नै उपयुक्त हुने ठानेँ । धरानमा कार्यक्रम सञ्चालन गर्दा पूर्वका लगभग सबै जिल्लालाई सहज हुने निष्कर्षसहित र वातावरणीय हिसाबले समेत धरानलाई छानिएको हो ।

११.तपाईं यो क्षेत्रमा कसरी लाग्नुभयो ?

२०५५ सालमा प्रवेशिका (एसएलसी) परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि म काठमाडौँ गएँ । त्यस बेला अति सीमित विद्यालयहरूले यो कार्यक्रम सञ्चालन गरिरहेका थिए । संयोग नै भन्नुपर्छ– त्यो समयका ए लेभलका शिक्षकहरूसँग प्रत्यक्ष घुलमिल हुन पुगेँ, प्रोग्रामका बारेमा धेरथोर जानकारी लिँदै पनि गएँ । तिनै शिक्षकहरूबाट बिस्तारै प्रेरणा र ज्ञान पाउन थालेँ अनि मेरो जीवनको कार्यक्षेत्र नै यही बन्न पुग्यो ।

 १२.अन्त्यमा केही भन्न बाँकी छ ?

ए लेभल कार्यक्रमबारे मैले जानेका कुरा राख्न दिनुभएकोमा तपाईंको मिडियालाई हार्दिक धन्यवाद दिन्छु । यो कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको हो । पहिले यो कार्यक्रम अध्ययनका लागि काठमाडौँ नै जानुपर्ने बाध्यता थियो । त्यहाँ जानु पर्दा विद्यालयको शुल्क मात्र होइन, बस्ने र खाने खर्च पनि बढी हुन्थ्यो । अब यो कार्यक्रम धरानमै आएको छ । काठमाडौँमैजानुपर्ने बाध्यता हटेको छ । काठमाडौँका शैक्षिक संस्थाका तुलनामा यहाँ हामीले शुल्क पनि कम निर्धारण गरेका छौँ तर शैक्षिक गुणस्तरमा भने हामी कुनै सम्झौता गर्दैनौँ । सुन्दर शैक्षिक वातावरणमा अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्न हामी प्रतिबद्ध छौँ । यो अवसरबाट फाइदा लिन र हामीलाई सेवाको अवसर दिन सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई हार्दिक आग्रह गर्दछु । तपाईंहरूलाई पूर्ण सन्तुष्टि दिनु हाम्रो प्राथमिक कर्तव्य हो ।

 

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved