धरान । वर्षा शुरु भए सँगै खोला किनारमा बस्दै आएका सुकुम्बासी बस्तीवासीहरु रातभर जागै बस्ने गर्छन् ।
वर्षाले घर बगाउँला कि भत्काउला भन्ने चिन्तामा सदैव रहने गर्छन् । खोला बाढीमो जोखिममा रहेका सुकुम्बासी बस्ती जोगाउने नारा अहिले सम्म चुनाव ताका मात्रै घन्किने गर्दछ । तर चुनाव जिते पछि बस्ती जोगाउनका लागि तटबन्धनका लागि कसैको पनि चासो बन्ने गर्दैन् ।
वर्षेनी धरानमा खहरे, सर्दु र सेउती खोला किनारमा बसेका सुकुम्बासी बस्तीहरु वर्षा लागे पछि रातभर जागै बस्नु पर्ने अवश्थामा छन् । वर्षौ देखि चुनावी नारा बन्ने गरेको बस्ती जोगाउने नारामै सिमित रहँदा सुकुम्बासी बस्ती वासीहरु सदैव जोखिममै रहने गरेका छन् ।
केही दिन अघि देखि निरन्तर परेको वर्षाका कारण धरानका सर्दु, खहरे र सेउती खोलाको किनारका बस्दै आएका सुकुम्बासी बस्ती वासीमा खतराको घन्टी बज्न थालिसकेको छ । नेपाल बसोबास बस्ती संरक्षण समाजका अनुसार केही दिन देखि परेको अविरल वर्षाका कारण धरानका १८ वस्ती जोखिममा परेका छन् । शनिबार सम्ममा ११ बस्तीका करिब १ हजार घर जोखिममा रहेको समाजका केन्द्रिय महासचिव कुमार कार्की बताउँछन् । धरानका विभिन्न क्षेत्रमा रहेको १८ घरमा क्षति पुर्याईसकेको उनले बताए ।
स्थानीय सरकारले बस्ती जोगाउने तर्फ ध्यान नदिए ठुलो धनजनको क्षति हुने उनको भनाई छ । उनले भने, ‘केही दिन देखि निरन्तरको वर्षाले बस्ती जोखिममा रहेको छ, तत्कालै स्थानीय सरकारले बस्ती जोगाउने र क्षति हुनबाट जोगाउँन पहल गर्नुपर्ने छ ।’
उनका अनुसार बाढी र पहिरो बाट देशै भरमा २ सय ३० सुकुम्बासीका घरमा क्षती पुगिसकेको छ भने १८ जिल्लाका ६० हजार सुकुम्बासीका घर उच्च जोखिममा रहेका छन । सरकारले उचित व्यवस्थापन र राहतको लागि उनले आग्रह गरेका छन् । साथै समाजका तह तप्का सदस्यहरुलाई राहत तथा उद्धारमा लाग्न समेत निर्देशन दिएका छन् ।