धरान । धराने रंगमञ्चको इतिहासलाई दोहोर्याउन धरानमा निर्माणाधिन नाटकघरको प्रदेश १ की उपसभामुख सरस्वती पोख्रेलले अवलोकन गर्दै प्रदेश सरकारले पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
सोमबार प्रदेश १ की प्रदेश सभा सदस्य उमिता बराईली, स्थानीय नेकपाका नेताहरु सहित नाटकघरको निर्माण कार्यको अवलोकन गर्न पुगेकि हुन् । उनले नाटकघर निर्माणलाई पुर्णता दिन प्रदेश सरकार सँग पनि पहल गर्ने बताईन् ।
उनले भनिन्, ‘सभामुख पनि धरानकै हुनुहुन्छ, उपसभामुख पनि सुनसरी, माननियहरु पनि हुनुहुन्छ, सबै मिलेर मुख्यमन्त्रीको समेत ध्यानाकर्षण गराउने छौं ।’ धरानलाई सांस्कृतिक शहरको रुपमा विकाश गर्न प्रदेश सरकार तयार रहेको उनले बताईन् ।
नाटकघरलाई दिर्घकालिन रुपमा सफल बनाउन निर्माण समिती साथै रंगकर्मीहरुले उत्साहमा ह्रास आउन नहुने बताईन् । जुन उत्साहबाट थालनी भएको छ, त्यसै गरिनै अन्तिम समय सम्म उत्साह कायम राख्न उनले सुझाव दिएकी छिन् ।
उनले भनिन्, ‘बजेटका लागि हामी सँग बारम्बार भेटिरहनु पर्ला, केही झन्झट पनि आउँला तर अन्तिम समय सम्म पनि लागि राख्नुस हामीले हाम्रो तहबाट सहयोग गर्न तयार छौं ।’ नाटकघरलाई परम्परागत ढङगले चलाउने भन्दा पनि नयाँ ढंगले प्रदेशकै गौरब कायम हुने गरि संचालन गर्न उनले आग्रह गरिन् ।