धनकुटा/ धनकुटाको छथरजोरपाटी गाँउपालिकाले गाँउपालिकामा स्थायी रुपमा बसाई सरी आउने परिवारलाई लहिनो दुहुना गाई उपहार कार्यक्रम अघि सारेको छ ।
खाँली खाल्सा तथा बाँझो जमिनको सदुपयोग गर्न यस चालु आर्थिक वर्षमा छथर जोरपाटी गाँउपालिकामा स्थायी रुपमा बसाई सरी आएका ९ जनाको परिवारलाई लहिनो दुहुना गाई उपहार दिएको छ । गाँउपालिकाले एउटा लहिनो दुहुना गाई बराबर ६०÷६१ हजार पर्ने ९ वटा खरिद गरेर सो गाउँपालिकामा बसाई सरी आएका ९ घर परिवारलाई निःशुल्क वितरण गरिएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए । सो गाँउपालिका भित्र स्थायी रुपमा बसाई सरी आएको कम्तीमा तीन महिना भएका परिवारलाई दुहुनो गाई खरिद गरेर वितरण गर्ने गरेको छ ।
अन्यन्त्रबाट बसाई सरी आएका परिवारलाई तत्कालको लागि जीविकोपार्जनको लागि समस्या पर्ने भएकाले गाउँपालिकाले दुहुनो गाई वितरण गरेपछि तत्काल दुध बेचेर भएपनि केही आम्दानी गरेर जीविकोपार्जनमा सहज हुने भएकाले गाउँपालिकाले दुहुनो गाई वितरण कार्यक्रम अघि सारेको अध्यक्ष लिम्बूले बताए । गाउँपालिकामा स्थायी बसोबास गर्न आएकाहरुलाई उपहार कार्यक्रमले प्रोत्साहन मिल्नुको साथै खाँली खाल्सा तथा बाँझो जमिन सदुपयोग गर्न सहयोग पुग्नेछ । चालु आर्थिक वर्षमा सो गाउँपालिकामा महालक्ष्मी नगरपालिकाबाट २ घर, पाख्रीबास नगरपालिकाबाट १ घर र धनकुटा नगरपालिकाबाट ६ घरपरिवार गरी ९ घरपरिवार सरी आएका छन् ।
गाउँपालिकाले जिल्ला भित्र वा बाहिरी जिल्ला जहाँसुकैबाट बसाई सरी आएको भएपनि ती परिवारहरुलाई लहिनो दुहुना गाई उपहार दिने कार्यक्रम रहेको छ । गाउँपालिकाले वितरण गरेको गाईको गाउँपालिकाले नै निःशुल्क बीमाको समेत व्यवस्था गरेको छ । यसैबीच गाउँपालिकाको भर्खरै सम्पन्न गाउँसभाले खाँली तथा बाँझो रहेका जग्गा सदुपयोग तथा कृषि पेशाबाट आर्थिक विकास गर्न कृषि व्यवसायलाई व्यवसायिकरण गर्दै पालिकामा कृषि उत्पादन तथा उत्पादकत्व बढाउन कृषि प्रवद्र्धन स्रोत भर्ना सापटी कार्यक्रमका लागि २० लाख र कृषि क्षेत्रमा कृषकलाई प्रोत्साहित गर्न सय मुरी धान, बीस हजार सम्मान लगायतका कार्यक्रमहरु अगाडी सारिएको छ । जसले गर्दा कृषकहरुलाई प्रोत्साहन मिल्ने गाउँपालिकाले जनाएको छ ।