सुनसरी । प्रदेश १ सरकारले कोरोना भाईरसको रोकथाम तथा प्रतिरक्षाका लागी हालसम्म भएका कार्यहरुको विस्तृत प्रतिवेदन प्रस्तुत गरेको छ । शुक्रबार विराटनगरस्थित उद्योग सङ्गठनमा पत्रकार सम्मलेनको आयोजना गर्दै प्रदेश सरकारले प्रतिवेदन प्रस्तुत गरेको हो ।
त्यस्तै कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागी प्रदेश सरकारले ‘नोभेल कोरोना भाईरसको परिचय तथा रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश सरकारको कार्य योजना’ समेत तर्जुमा गरि कार्यान्यनमा ल्याएको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताए ।
त्यस्तै कोरोना भाईरसको महामारीबाट उत्पन्न राष्ट्रिय चुनौतीलाई प्रदेशस्तरमा सामना गर्न प्रदेश १ सरकारले ‘होलियास्टिक अप्रोच’ को अवधारणा बमोजिम कार्य गरिरहेको छ । यस अवधारणा बमोजिम प्रदेश सरकारले नेपाल सरकार तथा स्थानीय तहहरुसँगको सहकार्यमा निजामती प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई आवश्यक जिम्मेवारीसहित समन्वयात्मक रुपमा परिचालन गरेको मुख्यमन्त्री राईले जानकारी दिएका छन् ।
कोरोना भाईरसको रोकथाम तथा प्रतिरक्षाका लागी प्रदेश १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हाल ३३ करोड ५४ लाख १ हजार ९ सय ४१ रुपैयाँ ४० पैसा जम्मा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव दिनेश भट्टराईले बताए । उनले प्रदेश सरकारको उक्त कोषबाट कुल २७ करोड ३३ लाख ८९ हजार ८ सय ९० रुपैयाँ बराबरको रकम विभिन्न मन्त्रालयहरु मार्फत् निकासा भई खर्च हुने क्रममा रहेको जानकारी दिएका छन् ।
प्रदेशको कोरोना जनसुरक्षा कोषमा भने प्रदेश सरकारको तर्फबाट २५ करोड, नेपाल सरकारको तर्फबाट ४ करोड, बैङ्क तथा वित्तीय संस्थाहरुको तर्पmबाट १ करोड ८६ लाख २ हजार २ सय ३६, प्रदेशका पदाधिकारी तथा कर्मचारीहरुको तर्फबाट १ करोड ६४ लाख ६० हजार ९ सय ७५ रुपैयाँ ८० पैसा, उद्योगी व्यावसायीहरुको तर्फबाट ७४ लाख ८० हजार र अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुको तर्फबाट २८ लाख ५८ हजार ७ सय ३० रुपैयाँ गरी ३३ करोड रकम जम्मा भएको थियो ।
यसका साथै प्रदेश सरकारले प्रदेश नं. १ का विभिन्न अस्पतालमा हालसम्म कूल ५ सय ८८ जनाको उपचार भईरहेको तथा ४ सय जना निको भई डिस्चार्ज भईसकेको प्रस्तुत प्रतिवेदनले देखाएको छ । जसमा धरानस्थित बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २८ महिला र ५ पुरुष गरि ३३ जना, विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १९ महिला र १३ पुरुष गरि ३२ जना, गोठगाँउस्थित कोभिड–आईसोलेशन अस्पतालमा पुरुष १ सय ५ जना र उदयपुरको चौदण्डीगढीमा ८ महिला र १० पुरुष गरि १८ जनाको उपचार भईरहेको छ ।
त्यसैगरी प्रदेश नं. १ मा सञ्चालित विभिन्न प्रयोगशालाहरूबाट हालसम्म २५ हजार ३ सय ४० जनाको स्वाबको नमुना सङ्कलन गरिएकोमा ६ सय १५ जनाको पि.सि.आर पद्धतिबाट कोरोना परीक्षणको नतिजा पोजिटिभ देखिएको प्रमुख सचिव भट्टराईले स्पष्ट पार्नुभएको छ । जसमा २३ हजार ९ सय ७० जनाको नतिजा नेगेटिभ देखिएको र ७ सय ५५ जनाको परीक्षणको नतिजा आउन बाँकी रहेको जनाइएको छ ।