धरान/ लक डाउन सुरु भए सगै अस्पतालहरुले कोरोना सँग सम्वन्धित विरामीको मात्र उपचारमा केन्द्रित भए पछि अन्य विरामीको उपचार सुरु गरेको हाम्रो हातेमालो फाउन्डेसनले १ हजार ८३ जनालाई सेवा दिएको छ ।
कोरोना वाहेका अन्य रोगका विरामीहरुलाई विरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था फाउन्डेसनले चैत्र ११ गते देखी नै हेल्पलाइन सेवा सुरु गरि उपचार सुरु गरेको थियो ।
फाउण्डेसनले हेल्पलाइन वाहेक १० जना विरामीलाई घरमै पुगेर सेवा दिएको छ भने सामाजिक सञ्जाल मार्फत १सय २० जना सेवा दिएको र विभिन्न स्थानमा रहेका विरामीहरुको उपचारका लागी स्वास्थ्य शिविर समेत गरेको अध्यक्ष इन्द्र लिम्बुले वताए । उपचार सगै विभिन्न संघ संस्थाकोहरुको समन्वयमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री सहयोग समेत गरेको अध्यक्ष लिम्बुले जानकारी दिए । लकडाउन केही खूकुलो हुदै गएकोले हेल्पलाईन सेवा बन्द गरेको जानकारी दिदै अध्यक्ष लिम्बुले सामाजिक सञ्जालवाट भने सेवा दिइरहने वताए ।
“फेसबुकवाट भने हाम्रो सेवा निरन्तर रहने छ ” उनले भने – हाम्रो फेसबुक पेजमा गएर आफ्नो समस्या राख्न सक्नुहुने छ । ” अस्पतालहरुले ओपिडि सेवा सूरु गरेका र उपचार सहज भएको कारण तत्कालको लागी हेल्प लाईन सेवा स्थगित गरेको र सामाजिक सञ्जालको माध्यममा वाट भने उपचार सेवा कायम राखेको फाउण्डेसनका सदस्य यौन तथा छाला रोग विशेषज्ञ डा धनकेशर खड्काले वताए । चिकित्सक र सर्वसाधारण विचको दुरी कम गर्दै सहज र सरल तरिकाले उपचार सेवा दिने उद्येश्यले स्थापित फाउण्डेसनले स्वास्थ्य शिविरमा निशुल्क औषधी सहित विशेषज्ञ सेवा दिदै आएको छ ।