धरान । कोरोनाको महामारी शुरु भए पछि रोकिएको पुनः श्रम स्वीकृति करिब ४ महिना पछि खुल्ला गरिएको छ ।
कोरोनाको संक्रमण विश्व व्यापी रुपमा फैलिए पछि वैदेशिक रोजगारीका लागि आवश्यक पुनः श्रम स्वीकृती रोकिएको थियो । विहिबार देखि पुनः श्रम स्वीकृति खुल्ला गरिएको वैदेशिक रोजगार विभाग ताहाचलले जनाएको छ ।
भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको प्रमुख उमेश बस्नेतले जानकारी दिए । पुनः श्रम स्वीकृति खुले पनि नयाँको बारेमा भने जानकारी नभएको उनले बताए । पुन: श्रम स्वीकृति भने सरकारले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि दिनेछ ।
पुनः श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए ।
पुनः श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ । कतिपय देशले अझै यात्रु प्रवेशमा रोक लगाएका छन् ।