विराटनगर । क्रमभंग होइन क्रमैसंग जस्तो मात्र भएको कांग्रेसले टिप्पणी गरेको छ ।
प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयमा पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथिको छलफलमा बोल्दै कांग्रेस प्रमुख सचेतक केदार कार्कीले बजेट नयाँ ढंगले नआएको टिप्पणी गरे ।
“पार्क र पार्टी पौवामात्र हो पर्यटन, संस्कृति, संस्कार होइन र पर्यटन ?,”कार्कीले भने,“विभिन्न जातिको संस्कार र संस्कृतिलाई सम्वद्र्धन गरेर जाने उल्लेख गरेको छैन् । । होमस्टे कसको संस्कृति झल्किएर जाने जस्ता विषयमा पनि बजेट मौन छ ।”कार्कीले पर्यटन नयाँ अनुभव, नयाँ दृश्य र नयाँ तरिकाले थोरै समयको लागि जिउने र अनुभव गर्ने पनि विषय भएको भन्दै यसतर्फ पर्यटन मन्त्रालयले कार्यक्रम नै ल्याउन नसकेको बताए ।
उनले बजेटले पुराना र भत्किएका कुरालाई लिएर आएको टिप्पणी गर्दै कार्कीले पर्यटनकै कुरा गर्दा व्यवसायलाई बल दिने होटल क्षेत्र भएपनि तिनको प्रवद्र्धनका लागि कुनै काम नभएको सुनाए । “पर्यटकलाई खुसी बनाएका होटल व्यवसायीको सवालमा के हुन्छ अब ? होटलमा लगानी गर्नेले झुन्डिएर मर्ने ? उनीहरुलाई राहत दिन्छ भनेर बजेटले कहाँ भन्छ ?,” कार्कीले भने,“बैंकको ब्याज दिनु परेको छ । कसरी तिर्छन ? कर तिर्नेहरुलाई बजेटले सम्बोधन गर्न सकेको छैन ।”
कार्कीले करकै पैसाले सरकार चलेको तर कर तिर्नेको नुनको सोझो पनि गर्न नसकेको बताए । उनले तालिम, प्रवद्र्धन, गोष्ठी भनेर फरक फरक ठाउँमा पैसा हालिएको बताए ।
सरकारले कतिपय कृषि प्रवद्र्धन गर्न सकिने ठाउँमा पर्यटन र पर्यटन हुने ठाउँमा कृषिका कार्यक्रम लगेको बताए । भने,“कोशीले छाडेको भागमा पर्यटक घुमाउन सकिन्छ । अर्ना देखाउन सकिन्छ तर सरकार भने त्यहाँ कृषि कार्यक्रम चलाउने भन्दैछ ।” उनले ‘नीति तथा कार्यक्रममाथि बोल्ने ५२ जनामध्ये ४८ जना सांसदले विरोध गरेको सरकारको नीति तथा कार्यक्रम फिर्तै हुनुपर्दथ्यो’ भन्दै आलोचना गरे ।
वनसंग सम्बन्धित कार्यक्रम कर्मचारी मोटाउने गरी बनाइएको र वन हाम्रो हो भन्ने भावना नै नरहेको बताए । जंगलभित्र जनावरलाई बचाउने सरकारसंग कुनै योजना नभएको भन्दै कार्कीले आलोचना गरे ।