विराटनगर । मोरङको कानेपोखरीमा सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति पूर्व–पश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ खण्डमा भएको दुर्घटनामा परी एकजना महिलासहित दुई पुरुषको मृत्यु भएको छ ।
झापाको दमकबाट इटहरीतर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले सडकमा पैदल हिंड्दै गरेकी महिलालाई ठक्कर दिएको थियो ।
अनियन्त्रित भएको स्करपिओले फेरि विपरीत दिशाबाट आउँदैगरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र त्यसमा पछाडि सवार झापा बाह्रदशी गाउँपालिका– ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बूको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।
स्कारपिओले ठक्कर दिएकी महिलाको घटनास्थलमै मृत्यु भएको र उनको पहिचना खुल्न नसकेको प्रहरीको भनाइ छ ।
मोटरसाइकल चालक र त्यसमा सवार दुई पुरुषमध्ये गुरुङको नोबेल मेडिकल कलेज र लिम्बूको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
स्कारपिओका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।