मोरङ पथरी शनिश्चरे नपा वडा नं. १ धिमाल ग्रामथानभित्र स्थायी बसोबास गर्ने ७७ वर्षिय रेशमलाल चौधरी र उनकी श्रीमती ७१ वर्षिय ठगुनी चौधरीको जनजीवन यतिबेला एकदमै नाजुक रहेको कुरा आज बिहान मात्र बुझिनमा आएको छ ।
कोरोना भाइरस संक्रमणका कारण जारी लामो लक डाउनको परिपालनाले जनमन गरिखाने स्थिति पनि नरहेको चौधरी परिवार बताउछ ।
जन्मँदै हातगोडा नै नचल्ने ४० वर्षिय पूर्ण अशक्त सुनिता चौधरीका बुबा–आमा रेशम र ठगुनी समय मिल्नेबित्तिकै निगुरो काट्न जंगल जाने र यसलाई हाटबजारमा ल्याएर बेचबिखन गर्ने गर्दथे ।
यसबाट प्राप्त रकमले साँझबिहानको जोहो गर्ने चौधरी परिवार अहिले लक डाउनको विषम परिस्थितिमा भरपेट खान नपाएको हप्ता बितेको गुनासो पोख्दै आएको छ ।
ग्रामथान नजिकै रहेको सार्वजनिक शौचालयबाट सानोतिनो रकम उठाएर छाकबासमा सहज तुल्याउँदै आएको चौधरी परिवार लक डाउनका कारण शौचादिमा पनि कोही नआउने भएकोले आम्दानी शुन्यको अवस्था रहेको पीडामा पोखिन्छ ।
गहभरि आँशु झार्दै चौधरी परिवार भन्छ– अस्मिता गुरूङ १ वर्ष ३ महिनाअघि आफ्नो ३ वर्षको छोरो सौरभ गुरूङलाई चौधरी परिवारको लालनपालनमा छोडेर ओमन गएकी थिइन् ।
यसबीचमा बेलाबेलामा संवाद हुने गरेको र दुइपटकसम्म गरेर केही हजार पैसा पठाएको पनि हो । अहिले भने एकाएक सम्पर्कविहिन भएको र पैसासमेत नआएकोले त्यो बालकको लालनपालनमा समेत आपत आइपरेको छ ।
गुरूङ दाम्पत्यबीचको सम्बन्ध बिग्रेकोले बालकको हेरचाह सहित लालनपालनको जिम्मा चौधरी परिवारले लिएको थियो । लक डाउनका बेला यो सम्बन्ध र जिम्मेवारी साँप्रोमाथि पिडुल्लो थपिएको जस्तो भएको छ ।
स्थानीय सरकार, सरकारी संयन्त्र वा कुनै मानवीय मनका धनी सहयोगी हातहरूले हाम्रो समस्यामाथि निगाह लगाइदिएहुन्थ्यो भन्दै चौधरी परिवार हाम्रो उजागार अनलाइन परिवारको स्थानीय संवादादातासँग जोडिन पुग्छ ।