धरान । कोरोना संक्रमणको अवश्था र लकडाउनमा रिर्पोटिङ गर्दा पत्रकारलाई हुने तनावलाई व्यवस्थापन गर्न धरानका पत्रकारहरुलाई १ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
रुपान्तरण नेपालको आयोजनामा शनिबार धरानका करिब ३५ जना पत्रकारहरुलाई तनाव व्यवस्थापन सम्बन्धी अभिमुखिकरण गरिएको हो ।
प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीको निर्वाचन क्षेत्र विकाश कोष मार्फत एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक विभागका चिकित्सक निदेश सापकोटाले तनाव व्यवस्थापनको विषयमा सहजीकरण गरेका थिए ।
सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको अभिमुखिकरण कार्यक्रममा पत्रकारलाई हुने तनाव, त्यसका लक्षणहरु र व्यवस्थापनका विषयमा जानकारी गराएका थिए ।
समाजलाई सुसुचित गर्ने पत्रकारहरु नै तनावमा रहे पछि सही सुचना र समाचार संप्रेषणमा समस्या हुने भएकाले पत्रकारहरु तनाव मुक्त रहेका पेशा प्रति सजग हुनुपर्ने कार्यक्रमका प्रमुख अतिथी सभामुख प्रदिप कुमार भण्डारीले बताए ।
उनले कोरोनाको त्रासले आम मानिसमा तनाव बढ्दै गएकाले समाजलाई तनाव व्यवस्थापनका लागि पनि पत्रकारहरुले सचेत गराउनुपर्ने उनले बताए ।
आयोजक संस्थाकी अध्यक्ष सविता राईले दिनभरीनै फिल्डमा खटिरहँदा पत्रकारहरु विभिन्न मानसिक समस्याबाट गुज्रिनु परेकाले तनाव व्यवस्थापनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले आयोजक संस्थालाई तनाव व्यवस्थापन प्रति सजग गराउन अभिमुखिकरण कार्यक्रम गरेको प्रति धन्यबाद दिएका थिए ।