धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अप्रेशनका लागि आएका बिरामीहरु निजी अस्पतालहरुमा गएर अप्रेसन गराउन बाध्य बनेका छन् ।
कोरोना संक्रमण फैलिन सक्ने भन्दै प्रतिष्ठानले अप्रेशन लगायतका अन्य सेवाहरु बन्द गरे पछि दक्षिण एशियाकै उत्कृष्ठ मानिएको प्रतिष्ठानमा उपचारबाट समेत बञ्चित हुनुपरेको बिरामीहरुले गुनासो गरेका छन् । विशेष गरी हाडजोर्नीको अप्रेशन गर्नुपर्ने अवश्थाका बिरामीहरुले प्रतिष्ठानबाट सहज सेवा पाउन सकेका छैनन् ।
अप्रेशन गर्नका लागि कोरोनाको संक्रमण परिक्षण गर्नु पर्ने र परिक्षणको प्रक्रिया लामो भएकाले ढिलो अप्रेशन हुने हुँदा बाहिरै लानुपर्ने बाध्यता रहेको उनीहरुको भनाई छ । आकस्मिक कक्षमा आएका बिरामीहरुलाई अप्रेसन गर्नुपर्ने अवश्था आए प्रतिष्ठानमा ढिलो हुने भएकाले बाहिरनै लान चिकित्सकहरुले पनि सुझाउने गरेका छन् ।
गत बुधबार हात भाचिएर आकस्मीक कक्षमा उपचारका लागि पुगेका धरान १७ का एक बिरामीलाई अप्रेसन गर्नुपर्ने भएकाले बाहिरनै लान सुझाएका थिए । चिकित्सकहरुले यहाँ एक बालिकालाई केही दिन कोरोना संक्रमण देखिएकाले अहिले अप्रेसन नहुने र हुँदा पनि ढिलो हुने भएकाले बाहिर नै लानु भनेको बिरामीका आफन्तले बताएका छन् ।
उनले धरानकै एक निजि अस्पतालमा अप्रेसनका लागि बिरामी लगेका छन् ।
प्रतिष्ठानले अप्रेसन सेवालाई सहज नबनाएकाले पनि बिरामीहरु बाहिर जानुपर्ने बाध्यतामा रहेको एक चिकित्सक बताउँछन् । उनले भने, ‘कुनै पनि बिरामीलाई अप्रेसन गर्नुपर्दा वार्डमा राख्नुपर्ने हुन्छ, कोरोना परिक्षण गर्नुपर्ने हुन्छ, परिक्षणका लागि किट नै छैन्, अनि कसरी उपचार गर्ने, परिक्षणको प्रक्रिया लामो र झन्झटिलो हुने भएकाले समस्या रहेको छ ।’ प्रतिष्ठानले व्यवस्थापन गर्न नसक्दा हाडजोर्नीको अप्रेसनमा १०÷१५ दिन लाग्ने गरेको उनको भनाई छ ।
केही दिन अघि हाडजोर्नीको समस्या लिएर आएकी बराहक्षेत्रकी एक बालिकामा कोरोना संक्रमण देखिए पछि अर्थो अब्जर्भेसन वार्ड नै सिल गरिएको थियो । उनी संगै वार्डमा रहेका अन्य बिरामीको रिपोर्ट नेगेटिभ आए पनि नयाँ भर्ना भने अझै बन्द रहेको छ । त्यसैले पनि हाडजोर्नीको बिरामी भर्ना गर्न नसक्दा अप्रेसनका लागि आएका बिरामीहरु बाहिरै जाने गरेका छन् ।
यता प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले हाडजोर्नी विभाग निर्वाधरुपमा संचालन भइरहेको दाबी गरेका छन् । उनले बिरामीहरुलाई बाहिर पठाउनुपर्ने अवश्था नआएको बताउँछन् । एक बालिकामा कोरोना संक्रमण देखिए पछि वार्डलाई सरकारको मापदण्ड अनुसार सरसफाई गरेर पुनः संचालनमा ल्याइसकेको बताए । अप्रेसन गर्नुपर्ने बिरामी बाहिर पठाउने र ढिलाई भएको विषयमा विभागबाट कुनै जानकारी नआएकाले विभागीय प्रमुख संग छलफल गरिने बताए ।