विराटनगर । प्रदेश १ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन नहुने पुलिन्दा भन्दै टिप्पणी गरेका छन् ।
उनले सरकारको नीति तथा कार्यक्रमलाई बुख्याँचा जस्तो भएको बताएका छन् । हिजो सोमबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी कार्कीले भने,”बुख्याँच्या जस्तो नीति तथा कार्यक्रमले प्रदेशमा समृद्धि आउन सक्दैन । सरकार सेटलाइट सिटी र सहरको विकासको कुरा गर्छ तर गरिबका झोपडीसम्म विकासका कार्यक्रम लैजान खोज्दैन् ।”
कार्कीले गाउँमा फाटेको चप्पल र भोटो लगाउने नागरिकको लागि सरकारले वास्ता नगरेको भन्दै टिप्पणी गरे ।
प्रदेश सरकारले विगतमा ल्याएका कार्यक्रम पनि प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेको भन्दै कार्कीले लामो, पपट्यारलाग्दो घण्टौं लामो भाषण गरी ल्याइएको नीति तथा कार्यक्रम कसरी कार्यान्वनय हुन्छ भन्दै प्रश्न गरे । उनले नीति तथा कार्यक्रमले अहिलेको संकटबारे खासै उल्लेख नगरेको र सम्बोधन गर्ने नदेखिएको बताए ।
नारा थप्ने र परिस्कृत गर्दै लैजाने कामबाहेक सरकारले नीति तथा कार्यक्रममा उल्लेखित योजनाहरुलाई बजेटमार्फत व्यवहारमा कार्यान्वयन भने गर्न नसेको बताए । भने,“हरेक वर्ष नीति तथा कार्यक्रम आउँछ तर कार्यान्वयनको पक्ष निकै फितलो छ ।”