इलाम/ जबरजस्ती करणीको आरोपमा इलामको माङसेबुङ गाउँपालिकाका एक कर्मचारी पक्राउ परेका छन् ।माङसेबुङ गाउँपालिका ६ चिसोपानी पंचमी बजारका ५५ वर्षीय असिस्टेन सबइन्जिनियर काजीमान राई पक्राउ परेकोे प्रहरीले जनाएको छ ।
एक महिलाको डेरामा गएर जबरजस्ती करणी गरेको आरोप सबइन्जिनियर राईमाथि लागेको थियो । जेठ १४ गते बुधबार राती आफूमाथि जबरजस्ती करणी भएको भन्दै पीडितले राईविरुद्ध जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएकी थिइन् ।
घटनापश्चात फरार राई कार्यालयमा समेत उपस्थित थिएनन् । प्रहरीले घटनाको ९ दिन पक्राउ गरेको हो ।
राईलाई म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
यता गाउँपालिकालाई भने यस विषयमा कुनै जानकारी नआएको माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले बताए । ‘अहिलेसम्म आधिकारिक रुपमा गाउँपालिकामा कुनै जानकारी आएको छैन’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘आधिकारिक जानकारी आएपछि कानुनी व्यवस्था बमोजिम प्रक्रिया अगाडी बढाउनेछौं ।’
राई हाल माङसेबुङ गाउँपालिका ६ नम्बर वडा कार्यालयमा कार्यरत थिए । तत्कालिन बाँझो गाउँ विकास समितिको असिस्टेन सब इन्जिनियर पदमा कार्यरत राई स्थानीय तह पुनर्संरचना पश्चात बनेको ६ नम्बर वडा कार्यालयमा कार्यरत थिए ।