धरान । नेपाल सरकारले कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न लामो समयदेखि लकडाउन गरेको छ । तर लडकडाउनका समयमा जतिसुकै कडाई गरे पनि सिमानाकाहरुका गाउँहरुमा कोरोनाको संक्रमण घट्नु भन्दा पनि दिनदिनै बढ्दै गएको छ । यसले भविष्यमा भयावह अवस्था सिर्जना हुन सक्ने संकेत समेत देखाएको छ ।
नेपाल भारत खुल्ला सीमानाका कारण भारतबाट नेपाल प्रवेश गर्नेको संख्यामा बृद्धि भएपछि कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ ।
सीमा नाकामा जतिसुकै कडाई गरे पनि सुरक्षाकर्मीको उपस्थिति कम भएको छ । सुनसरीमा समेत यो अवस्था आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरीको दक्षिणी क्षेत्र भारतको सीमा नाका भएका कारण लुकीपिछी भारतबाट प्रवेश गर्नेको संख्या अत्याधिक रहेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीले पछिल्लो समय सम्पूर्ण सुरक्षाा संयन्त्र यस्ता नाकाहरुमा लगाए पनि म्यान पावर कमीका कारण सम्पूर्ण रुपमा भारतबाट नेपाल प्रवेशमा रोक लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापाले जानकारी दिए ।
भारतबाट नेपाल प्रवेश गर्दै सुनसरी नाका भएर आउनेको संख्यामा वृद्धि भएपछि अहिले समस्या निम्तिदै गएका उनले बताए ।
उनले यसलाई मध्यनजर गरी स्थानीय तहसंग समन्वय गरेर जिल्लाका १९ स्थानमा क्वारेन्टाइनको व्यवस्था गरिएको बताउदै हालसम्म ३ सय २२ जना क्वारेन्टाइनमा रहेको बताए ।
भारत र तेस्रो मुलुकबाट लाखौ नेपाली भित्रिने सम्भवना बढेकाले यही अनुसारको पूर्वाधार तयारी नगरे भोलि भयावह अवस्था निम्तिने उनले बताए ।
भारतबाट आउनेहरु नेपालमा पूर्वी जिल्लामा जाने धेरै भएकाले अहिले सुनसरीमा होल्डिङ एरिया बनाएर क्वारेन्टाइनमा राखेर चेकजाचपछि मात्र सम्बन्धित जिल्लामा पठाउने गरेको उनले बताए ।
सुरक्षाकर्मीले कोरोनाको संक्रमण न्यूनिकरण गर्न जिल्लामा रहेका स्थानीय तहसंग समन्वय गरेर क्वारेन्टाइनमा राख्ने, संक्रमितलाई सम्बन्धित अस्पतालमा पु¥याउने काम गरे पनि नेपाल भारतको खुल्ला सीमानका कारण जोखिम झन झन बढेकोले यसतर्फ सबै सचेत हुन आवश्यक रहेको उनको सुझाव रहेको छ ।