धरान । कोही मानसिक बिमारमा कारण बजारमा खुल्ला हिड्ने कोही सडकमै जिवन बिताउने सडक मानवहरु आइतबार मज्जाले नाचे ।
वैशाख १ गते देखि घरमै थुनिएर बस्नु परेको बाध्यतालाई मनोरञ्जनमा भुले । नाँच्न आउँदैन तर पनि संगितमा पुरै १ घण्टा झुमिरहे । हिजोको सबै दिनहरु बिर्सेर ।
हिजोको जस्तो सुकै अवश्थालाई पनि बिर्सेर धरान संगित प्रतिष्ठानले दिएको सांगितिक माहौलमा आफुलाई परिवर्तन खोजिरहे ।
कोरोना संक्रमणको जोखिमबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउन शुरु भए लगत्तै धरान उपमहानगरपालिकाले सकड मानवहरुलाई धरान ८ स्थित लाङघाली सामुदायिक वन उपभोक्ता समुहको आवसगृहमा व्यवस्थापन गरेको थियो ।
वैशाख १ गते देखि उनीहरु बजारको स्वतन्त्र जिवनबाट टाढा रहेर घरको पारिवारिक माहौलमा बस्दै आएका थिए ।
१ सय जना भन्दा बढी सडक मानवहरु मध्ये कोही मानसिक बिरामीहरु छन्, कति सडकमै रात बिताउने हरु छन् । उनीहरुलाई सामाजिक मनोभावना परिवर्तन गर्न सहजीकरण गरेकी थिईन्, सडक मानव व्यवस्थापन समितीका सदस्य तथा महिला सञ्जाल धरानकी अध्यक्ष सबिता राईले ।
उनकै आग्रहमा धरान संगित प्रतिष्ठानले सांगितिक कार्यक्रमको आयोजना गरेको थियो । अब प्रत्येक हप्ताको शुक्रबार प्रतिष्ठानले उनीहरुलाई सांगितिक मनोरञ्जन प्रदान गर्ने छ ।
आइतबार प्रतिष्ठानका कलाकारहरुले साँगितिक मनोरञ्जन प्रदान गरे । प्रतिष्ठानका अध्यक्ष शुवर्ण श्रेष्ठको नेतृत्वमा गएको १ दर्जन कलाकारहरुले डेढ घण्टा उनीहरुलाई नचाए ।
आवासगृहमा रहेका बालक देखि युवा, वृद्धा सबैले आवास गृहको समस्या, आफ्नो पुराना अवश्थालाई बिर्सदै खुलेर मनोरञ्जन लिए ।
प्रतिष्ठानका ५ जना कलाकारहरुले आवासगृहमा बसेकाहरु सांगितिक मनोरञ्जन दिएका थिए । कलाकारहरु शम्भु गुरुङ, प्रिया लामा, गोमा कुलुङ, नविन राई, पवन लिम्बुको साथमा आवास गृहमै इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी पुष्पराज बस्यालले पनि आफ्नो सांगितिक प्रस्तुती दिएका थिए ।
प्रत्येक हप्ताको शुक्रबार सांगितिक कार्यक्रमको आयोजना गरिने जानकारी दिदै व्यवस्थापन समितीकी सदस्य तथा महिला सञ्जालकी अध्यक्ष सबिता राईले लामो समय देखि लकडाउनका कारण घर भित्रै बसिरहेका सडक मानवहरुलाई सांगितिक कार्यक्रम मार्फत रिफ्रेस बनाउन मद्धत पुगेको बताईन् । उनले भनिन्, ‘सडकमा खुल्ला रुपमा हिडिरहेका उनीहरु एकै ठाउँ बस्दा अटोमोनस भएका थिए, सांगितिक कार्यक्रमले उनीहरुलाई फ्रेस बनाएको छ, उनीहरुमा सामाजिक परिवर्तन आउँदै गएको अवश्थामा कार्यक्रमले झन समाज बुझ्न सक्ने बनाएको छ ।’
आवासगृहमा बसेका सडक मानवहरुलाई योगा, सामाजिक उत्तरदायित्व, समाजको रहनसहन बारे बेला बेलामा सचेतना कार्यक्रम गरिरहेको धरान उपमहानगरपालिकाको सामाजिक विकाश महाशाखाकी अधिकृत जुनु राईले बताईन् । आवासगृहमा बसिरहेका सबैजनामा सुधार भइरहेको उनको भनाई छ । सांगितिक कार्यक्रमले उनीहरुलाई अझै धेरै प्रभाव पारेको उनी बताउँछिन् ।
उनले भनिन्, ‘हिजो सम्म टाउको घोप्टाएर बस्नेहरु आज यो सांगितिक कार्यक्रममा शिर ठाडो पारेर नाच्दै हुनुहुन्छ, आफ्नो क्षमता देखाउने कुराहरुमा लागिरहनु भएको छ, उनीहरुमा सचेतना पनि बढ्दै गएको छ ।’
लकडाउनकै कारण उनीहरु घर भित्रै बस्ने अवश्था र उनीहरुलाई सामाजिक सचेतना कार्यक्रमले उनीहरुमा परिवर्तन आउँदै गरेको आवासगृहमा खटिएका कर्मचारीहरु बताउँछन् ।
आवास गृहमा धरान उपमहानगरपालिकाको सामाजिक विकाश महाशाखाका कर्मचारी सहित, इलाका प्रहरी कार्यालय धरानका प्रहरी, नगर प्रहरी लगायत विभिन्न सामाजिक संघसंस्थाहरुले उनीहरुलाई सचेत बनाउन विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।