सरकारले कोराना संक्रमितहरुको उपचारका लागि कोभिड अस्पतालहरु त निर्माण गरेको छ तर संक्रमितलाई भर्ना गराउनै समस्या हुने गरेको छ ।
कतिपय स्थानहरुमा अस्पताल सम्म बिरामी पुर्याउन एम्बुलेन्स पाइन्दैन कतै अस्पतालमा भर्ना गराउनै सकिन्दैन् ।
त्यस्तै भएको छ, काठमाण्डौमा पनि शनिबार कोरोना संक्रमित बिरामीले सात घण्टा एम्बुलेन्समै बिताउनु पर्यो ।
देशकै राजधानी, हरेक कुरामा सुविधा सम्पन्न बनाएको छ सरकारले, औषधी उपचार देखि स्वास्थ्य केन्द्रलाई व्यवस्थीत, तर त्यहीका कोरोना संक्रमितले समयमै उपचार पाउन सक्दैनन्, भने दुर्गम क्षेत्रका जनताले कसरी समयमै स्वास्थ्य उपचार पाउने ?
काठमाडौं उपत्यकामा मात्रै सरकारले तोकेको ६ वटा कोभिड १९ अस्पतालहरु छन् । तर, शनिबार दिउँसो ३ बजे एम्बुलेन्समा पाटन अस्पताल पुगेका एक संक्रमित अस्पताल चाहार्दै राति १० बजे पछि मात्रै भर्ना हुन पाए । उनको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा भर्ना गरिएको छ ।
एक साताअघि भारतको महाराष्ट्रबाट फर्किएका सर्लाही घर भएका ति संक्रमित सवारी दुर्घटनामा परि खुट्टा भाचिए पछि काठमाण्डौंको कुलेश्वर स्थित राजधानी अस्पताल भर्ना भएका थिए ।
शल्यक्रिया गर्नु अघि अस्पतालले स्वास्थ्य चेकजाँच गर्दा कोरोना पोजिटिभ देखिए पछि पाटन अस्पताल रिफर गरेको थियो ।
पाटन अस्पतालले बेड खाली छैन् भन्दै पार्किङ एरियामै सात घण्टा बिताए पछि केएमसी अस्पताल रिफर गरिदिएको थियो ।
सरकारले काठमाडौं उपत्यकामा कोरोनाको उपचारका लागि पाटन अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र, सशस्त्र प्रहरी अस्पताल, काठमाडौं मेडिकल कलेज र त्रिवि शिक्षण अस्पताललाई तोकेको छ । यी अस्पतालमा एक सय ८७ आइसोलेसन बेड छन ।
राजधानी अस्पतालले समन्वय नगरी संक्रमितलाई पठाउँदा घन्टौँ एम्बुलेन्समै बस्नुपरेको स्पष्टीकरण पाटन अस्पतालले दिएको छ ।
पाटन अस्पतालमा भएको ६ बेडको आइसोलेसन पुरै भरिएकाले भर्ना गर्न नसकिएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार त्यसबीचमा बिरामीलाई राख्न अन्य अस्पतालसँग सम्पर्क गरिएको थियो ।
तर, सम्पर्क गरिएका अधिकांश अस्पतालले लिन आनाकानी गरे । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालले ‘हड्डी फ्याक्चर केस’ नलिने बतायो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले शल्यक्रियासम्बन्धी सेवा नभएकाले भर्ना गर्न नसकिने जानकारी गरायो ।
सरकारले इन्जुरी भएका कोरोना संक्रमित बिरामीका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई तोकेको छ ।
पाटन अस्पतालले त्यहाँ पनि सम्पर्क गरेको थियो । तर, शिक्षण अस्पतालले भर्नाका लागि आवश्यक तयारी नभएको भन्दै लिन नमानेको पाटन अस्पताल स्रोतले बतायो ।
केही सीप नलागेपछि पाटन अस्पतालले एम्बुलेन्समै कुरिरहेका संक्रमितबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको थियो ।
मन्त्रालयको पहलमा राति १० बजे उनलाई केएमसीमा पठाएको थियो ।