प्रदेश नं १ मा कोरोना संक्रमितको संख्या बढेसंगै सरकारले परीक्षणको दायरा झन् फराकिलो बनाउने तयारी थालेको छ ।
परीक्षणको दर ४० हजारभन्दा बढी पु¥याउने सरकारको तयारी छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ प्रादेशिक समितिको बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजना स्विकृत समेत गरेको छ ।
भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोरोना संक्रमित पहिचान गर्न परीक्षणको दायरा बढाउन लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् । भने,‘‘दैनिक एक हजार जनाका दरले स्वाब संकलन गरेर ल्याबमा नमूना ल्याई गरिने पीसीआर परीक्षण गर्न लागेका छौं । ४० हजार भन्दा धेरै नागरिकमा कोरोना परीक्षण गर्ने सकारको तयारी छ ।’’ राईले परीक्षणबाट नै संक्रमणको अवस्था प्रस्ट हुनेसमेत उल्लेख गरे ।
स्विकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुलाई उच्च, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रको रुपमा वर्गीकरण गरिएको छ । उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । हाल प्रदेश १ मा चार हजार एक सयभन्दा धेरै मानिसमा पिसिआर विधिमार्फत कोरोना परीक्षण भइसकेको छ ।
कोभिड–१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत वृद्धि गरिने भएको छ । यसका लागि कोशी कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहश्रेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड थपिने भएको छ ।
यसैबीच प्रदेश मा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्र्ने संयुक्त कार्ययोजना समेत स्वीकृत भएको छ । कार्ययोजनाअनुसार इलाम, झापा, मोरङ्ग र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया पहिचान गरी निर्माण समेत थालिएको छ ।
होल्डिङ्ग एरियामा १५ हजार बेड संख्या बन्ने भएको छ । इलाममा २ हजार, झापामा ४ हजार, मोरङ्गमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड तयार हुन थालेका छन् । यतिबेला यी जिल्लाका १० ठाउँमा ११ सय ३ वटा बेड बनिसकेका छन् ।