प्रदेश १ को बर्खे अधिवेशनको तयारी तीव्र पारिएको छ । कोरोना जोखिमका कारण प्रदेशसभाको हलमा दूरी कायम गर्दै नयाँ कुर्सी व्यवस्थापन गरिएको छ ।
सबै अटाउन मुश्किल हुने भएपछि केही सांसदले बैठकको प्रत्यक्ष प्रसारण हलको माथिल्लो तलामा स्क्रिनमार्फत बैठकको कारवाहीमा सहभागी गराउने सचिवालयले तयारी गरेको छ ।
प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले तल ६३ वटा कुर्सी प्रदेशका सांसदहरुको लागि व्यवस्थापन गरिएको बताए ।
भने,‘‘नअटाउने माननीयहरुलाई स्क्रिनमा बैठक लाइभ देखाउने प्रबन्धसहित माथिल्लो तलामा व्यवस्थापन गरिएको छ ।’’
पत्रकारहरुले पनि मिडिया सेन्टर वा माथिल्लो तलामै राखिने स्क्रिनमा बैठकको कारवाही हेर्न र रिर्पोटिङ गर्न पाउने पराजुलीले बताए ।
प्रदेश १ मा ९३ जना सांसद छन् । बर्खे अधिवेशन यही जेठ १४ गते २ बजेको लागि बोलाइएको छ । अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पेश हुनेछ ।
बैठकमा सहभागी हुने सांसद, सचिवालयका कर्मचारी, सुरक्षामा खटिने सुरक्षाकर्मी र रिर्पोटिङमा जाने पत्रकारहरुका आज नै कोरोना परीक्षण गर्न स्वाब संकलनको काम शुरु भएको छ ।
सभामुख प्रदिपकुमार भण्डारीले अहिले परिस्थिति अलि फरक र संकटग्रस्त भएकोले सावधानीका सबै उपाय अनपाइएको बताए ।