वराहक्षेत्र नगरपालिकाको आज बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले स्थानीय सामुदायिक विद्यालयलाई क्वारेन्टाइन स्थलका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।
नगरले चतरास्थित रामानन्दाचार्य सेवा पीठ (हनुमान मन्दिर रहेको क्षेत्र) लाई समेत क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने प्रदेश सरकारलाई सिफारिस गरेको छ ।
कार्यपालिका बैठकले विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट सजगता अपनाउँदै सामुदायिक विद्यालयहरु प्रकाश मावि, वराहक्षेत्र १० प्रकाशपुर, महेन्द्र मावि वराहक्षेत्र ६, चक्रघट्टी र महेन्द्र मावि, वराहक्षेत्र ३ भरौललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेको नगरका सूचना अधिकारी पुकार पोख्रेलले जानकारी दिए ।
कार्यपालिका बैठकले नेपाल– भारत सीमानाकासम्म आइपुगेका र अलपत्र अवस्थामा रहेका वराहक्षेत्रका नगरवासीलाई सहजीकरण गरी क्वारेन्टाइनमा राख्ने निर्णय गरेको नगर प्रमुख निलम खनालले जानकारी दिए ।