धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवश्थामा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडि सेवा शुरु गरे पछि स्थानीयहरु सहित प्रतिष्ठानमै कार्यरत चिकित्सक तथा कर्मचारीहरु पनि त्रसित बनेका छन् ।
स्थानीय प्रशासन, स्थानीय सरकार तथा चिकित्सकहरु सँगै समन्वय नगरी प्रतिष्ठानका उपकुलपतिको ठाडो निर्देशनमा ओपिडि सेवा संचालनले स्थानीयहरुमा त्रासको वातावरण तयार गरेको स्थानीय सहित चिकित्सकहरुले पनि आरोप लगाएका छन् ।
पछिल्लो समय प्रदेश नम्बर १ मै पनि कोरोना संक्रमितको संख्या थपिदै गएको छ ।
प्रदेशका ७ जिल्लामा कोरोना संक्रमण भइसकेको पुष्टि भइसकेको छ भने थपिने क्रम पनि बढ्दै गएको अवश्था छ ।
यस्तो अवश्थामा पनि प्रतिष्ठानको ओपिडि सेवा संचालन गर्नु गैह्रजिम्मेवार पनि रहेको प्रतिष्ठानकै एक चिकित्सक बताउँछन् । चिकित्सकहरु कारवाहीमा परिने डरले उपकुलपतिको विरोध गर्न नसकेको गुनासो गर्छन् ।
एक चिकित्सकले भने, ‘उपकुलपतिको गैह्रजिम्मेवार पन बढ्दै गएको छ, केही दिन अघि पनि संक्रमितलाई अस्पतालमै बोलाएर स्वाब संकलन गर्न लगाइयो, अहिले ओपिडि सेवा नै संचालन गर्न निर्देशन दिइएको छ, यसले धरानमा जोखिम निम्त्याउने सम्भावना बढेको छ ।’
प्रतिष्ठानले मंगलबार देखि मुलगेटबाटै टोकन बाडेर ओपिडि सेवा संचालन गरेको छ ।
सामाजिक दुरी कायम गर्दै चिकित्सकले बिरामीलाई चेकजाँच गर्ने भनिएको छ, तर मंगलबार अस्पतालको मुलगेट माछा बजार जस्तो भिड भएको धरान १८ का वडाअध्यक्ष नरेन्द्र कुमार राई ९प्रविण० बताउँछन् ।
१८ वडामै प्रतिष्ठान पनि रहेकाले वडावासीहरु त्रसित बनेको उनको भनाई छ । उनले भने, ‘विहान देखि वडावासीले फोन गरेर कुनै एक्सन लिनुपर्यो भन्दै गुनासो गरेको गरै छन्, हामी सँग कुनै छलफल नै नगरी ओपिडि संचालन गर्दा वडानै तनावमा परेको छ ।’
उनका अनुसार चिकित्सकहरुले पनि ओपिडि सेवा संचालनलाई रोक्नु भन्दै गुनासो गरिरहेका छन् । प्रतिष्ठानमा धरानका मात्रै बिरामी आउँदैनन्, प्रदेश नम्बर १ र २ सहित भारतीय क्षेत्रबाट पनि बिरामीहरु आउने गर्दछन् ।
ओपिडि सेवा शुरु गरे पछि बाहिरबाट पनि बिरामीहरु आउने भएकाले धरानलाई झन जोखिम बढाउने सम्भावना रहेको उनले बताए ।
स्थानीय तहले कोरोनाको जोखिमबाट बच्न सुरक्षा रणनितिलाई पनि अटेर गर्दै स्थानीय तहसँग कुनै समन्वय नगरी ओपिडी सेवा संचालन गरेको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए । धरानको प्रमुख प्रतिष्ठानको सिनेट सदस्य रहने प्रावधान छ तर दुवै हैसियतमा प्रतिष्ठानले छलफल नगरेको उनको भनाई छ ।
उनले भने, वास्तविक रुपमा बिरामीको सेवा दिननै खोज्नु भएको हो भने बधाई दिन चाहन्छु, तर आर्थिक समस्या पर्यो भनेर अहिलेको अवश्थामा परिस्थीती अनुकुलको विषयमा गम्भिर हुनुपर्ने अवश्थामा ओपिडि सेवा संचालन गर्नु उचित छैन् ।
ओपिडि सेवा संचालन भए पछि धराने जनताले बारम्बार फोन गरेर गुनासो गर्दै प्रतिष्ठानको निर्णय प्रति हस्तक्षेप गर्न सुझाव दिइरहेको उनले बताए ।