धरान । कोरोनाको संक्रमणको जोखिमका बिच पनि जिम्मेवारीपुर्वक फिल्डमा खटेर पत्रकारिता गरिरहेका श्रमजिवी पत्रकारहरुलाई लकडाउनको अवश्थामा आइपर्ने समस्या समाधान गर्ने तर्फ नेपाल पत्रकार महासंघ सुनसरीले धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
लकडाउन शुरु भए सँगै पत्रिकाहरु बन्द गर्दै अनलाईन मार्फत भए पनि पत्रकारहरुले जनतालाई सुसुचित गराउँदै आएका छन् । उनीहरुलाई आइपर्ने आर्थिक सँगै सुरक्षा र स्वास्थ्य उपचारका लागि स्थानीय तहको ध्यानाकर्षण गराएको हो । धरान नगर क्षेत्रमा कार्यक्षेत्र बनाएर काम गरिरहेका श्रमजिवी पत्रकार तथा सञ्चारगृहहरुमा आइपरेको समस्यालाई सम्बोधन गर्न महासंघका अध्यक्ष अमर खड्काले धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई ६ बुँदे माग सहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा सञ्चारगृहमा आश्रित श्रमजीवी पत्रकार र कर्मचारीलाईं नियमित रूपमा तलब उपलब्ध गर्नका निम्ति उपमहानगरपालिकाले यस क्षेत्रमा सञ्चालित सञ्चारगृहलाई नियमित रूपमा प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापनको भुक्तानी तत्काल गर्ने व्यवस्था गर्न माग गरेको छ ।
त्यसै गरि नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा विगत वर्ष देखि सञ्चालन हुँदै आएको लेखनवृत्ति कार्यक्रमलाई तत्कालनै संचालन गर्न समेत माग गरेको छ । संकटको घडीमा यस क्षेत्रमा सञ्चालित सञ्चारमाध्यम लक्षित विशेष प्याकेज तत्काल घोषणा गर्दै धरान उपमहानगरपालिको विभिन्न कार्यक्रमभित्र प्रचारप्रचार शीर्षकमा रहेको बजेट, जुन अहिलेको परिस्थितिमा खर्च हुन नसकेको रकमलाई रकमान्तरण गर्न आग्रह गरेको छ ।
त्यस्तै कोरोना भाइरस सङ्क्रमको त्रासबीच पनि आफ्नो धर्म पूरा गरिरहेका श्रमजीवी पत्रकारको रोजीरोटी नै संकटमा परेका बेला कुनै आपतकालीन समस्या आइपरेमा (जस्तो कोरोनाको संक्रमण, कुनै अन्य प्रकारको बिरामी, दुर्घटना, कसैलाईं खाद्यन्न अभावलगायत) त्यसको समाधानका लागि उपहानगरपालिकाले तालिम तथा पत्रकार भ्रमण शीर्षकमा छुट्याएको रकम महासंघ मार्फतं पत्रकारको समस्या टार्न उपलब्ध गराउन, कोेरोना संक्रमणविरुद्ध अग्रभागमा रहेर महत्वपूर्ण भूमिका खेल्ने श्रमजीवी सञ्चारकर्मीसँगै यस क्षेत्रमा सञ्चालित सञ्चारगृहका निम्ति आगामी आर्थिक वर्षको बजेटमा विशेष प्याकेज घोषणा गर्न र सीमित स्रोत–साधन र कठिनाइका अतिरिक्त कार्यस्थलमा खटिएर पेसागत धर्म निर्वाह गर्ने पत्रकारका लागि पिसिआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न समेत माग गरेको छ ।
महासंघको नेतृत्वमा धरानका अग्रज पत्रकार सहित विभिन्न सञ्चारक्षेत्रमा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले सुचना महाशाखाका प्रमुख खगेन्द्र खतिवडाको संयोजकत्वमा ४ सदस्यीय कार्यदल बनाउन सुझाव दिएका थिए । छलफलमा खतिवडाको संयोजकत्वमा महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, अग्रज पत्रकार हर्ष सुब्बा र आर्थिक महाशाखाको प्रतिनीधी रहने गरि कार्यदल बनाएको छ । कार्यदलले १ हप्ता भित्रमा आवश्यक सुझाव तथा प्रतिवेदन पेश गर्ने भएको छ । पत्रकारहरुको तर्फबाट बुझाएको ध्यानाकर्षण पत्रलाई कार्यान्यवन गर्ने प्रमुख राईले प्रतिवद्धता बुझाएका छन् ।
त्यसै गरि महासंघले विहिबार नै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पिसिआर प्रविधिबाट स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइदिन पनि आग्रह गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई महासंघको टोलिले कोरोना सक्रमणको जोखिमका बीच जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाई दिनु हुन अनुरोध पत्र बुझाएको हो ।