भारतले नेपाली भू–भाग मिचेर तिब्बत मानसरोवरसम्म पुग्ने बाटो निर्माण गरेको विरोधमा नेपाली कांग्रेस सम्बद्ध पूर्वविद्यार्थी नेताहरुले प्रदर्शन गरेका छन् ।
विराटनगरका मेनरोडस्थित गुद्रीको ‘बी’ प्लटमा जम्मा भएका नेविसंघका पूर्व पदाधिकारी तथा प्रतिनिधिले भारतीय गतिविधि सह्य नभएको बताए । उनीहरुले भारतले नेपालको मिचेको भूभागसमेत फिर्ता गर्नुपर्ने माग गरे ।
विरोधसभामा बोल्दै संयोजक विमल संग्रौलाले सरकारले लकडाउन गरेको तर यहीबेलामा भारतबाट नेपालको सार्वभौमिकतामाथि नै धावा बोलिएको बताए । भने,‘‘संकटकै बेला भारतले नेपालमाथि थिचोमिचो गरेको छ । हाम्रो भूभाग कब्जा गर्ने नीति अनुसार बाटो बनाएको छ । यो हामीलाई स्वीकार्य छैन् ।’’ उनले भारतले नेपाललाई दुःख दिने मनसाय राख्ने गरेको बताए ।
नेपाली कांग्रेस विराटनगर महानगरसमितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपाने नेपाली भूमि मिचेर बाटो लग्नु हेपाहा प्रवृत्तिको चरम भएको बताए । भने,‘‘यो हकर्तलाई सामान्य रुपमा लिन सकिदैन् । नेपाल सरकारले कडा रुपमा प्रस्तुत भई मिचिएको आफ्नो भूमि फिर्ता गराउनु पर्छ ।’’ न्यौपानेले भारतले कोरोना भाइरसको महामारीका बेला पनि छिमेकी राष्ट्रप्रति गर्ने व्यवहार अति नै तल्लो स्तरको भएको बताए ।
नेपाल महिला संघकी मोरङ सचिव प्रमिला थापाले भारतले नेपाललाई भन्ने र गर्ने व्यवहारमा निकै फरक देखिने गरेको बताइन । थापाले भनिन्,‘‘अहिले पनि भारतले नेपाललाई गर्ने व्यवहार कस्तो रहेछ भन्ने मानसरोवरसम्म पुग्ने सडक निर्माणले छर्लङ बनाई दिएको छ ।’’
पूर्व विद्यार्थीका प्रतिनिधि तथा नेताहरुले भारतीय कदमको विरोधामा नाराबाजीसमेत गरेको नेपाली कांग्रेस मोरङका सदस्य राजु मास्केले बताए । उनीहरुले राष्ट्रिय झन्डा, पार्टीको झन्डा र विद्यार्थीको झन्डा बोकेर विरोध प्रदर्शन गरेका थिए ।