कोरोनाको महामारीबाट जोगिने कि स्कुल खोल्ने ?

  • बैशाख २९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

एजेन्सी । नेपालमा लकडाउन खुलेको भोलिपल्ट परीक्षा लिने शिक्षामन्त्री गिरिराजमणि पोखरेलेको भनाइ सार्वजनिक भएलगत्तै आलोचना भएको थियो । कोरोनाको महामारीबाट जोगिने कि स्कुल खोल्ने भन्ने विषयमा संसदमा समेत प्रवेश गरेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शिक्षामन्त्रीको उक्त भनाइ गैरजिम्मेवारपूर्ण भएको भन्दै टिप्पणी गरेका थिए ।

नेपालमा एसईईसमेत अन्तिम अवस्थामा स्थगित भएको थियो । परीक्षाको अघिल्लोदिन बेलुकामात्रै एसईई रोक्ने निर्णय भएको थियो ।

नेपालमा मात्रै होइन अहिले विश्वभर स्कुल खोल्ने कि नखोल्ने भन्ने विषय बहसमा छ । 

कोभिड–१९ सम्बन्धी स्पष्ट जवाफ हासिल गर्न नसकिएका केही महत्वपूर्ण प्रश्नहरु मध्ये एउटा हो, बालबालिकाले संक्रमण फैलाउनमा कस्तो भूमिका निर्वाह गर्छन् ? हालसम्मको तथ्याङ्क हेर्दा वयश्कहरुको तुलनामा ज्यादै कम बालबालिका कोरोनाबाट संक्रमित भेटिएका छन् र रोग लागि हाले पनि उनीहरुमा साधारण लक्षण मात्र देखा पर्दछ । तर त्यसबीच उनीहरुले वयश्कहरुमा भाइरस फैलाएर संक्रमण बढाउन सक्छन् भन्ने कुरा पनि आउँछ । विश्वव्यापी रुपमा बन्द गरिएका स्कुलहरु खोल्ने कि नखोल्ने भन्ने कुरा यिनै प्रश्नको जवाफमा निर्धारित रहेकाले पनि अहिले यो विषय गम्भीर बनेको छ । 

यस्तोमा दुई फरक अध्ययनबाट प्राप्त प्रमाणले बालबालिकाहरुले संक्रमण फैलाउन सक्छन् भन्ने देखाएका हुन् । पूर्ण रुपमा पुष्टि गर्न नसके पनि दुवै अनुसन्धानले बलियो प्रमाण प्रस्तुत गरेका छन् जसपछि स्कुलहरु तत्कालका लागि अझै बन्द गर्नुपर्ने रोगविद् एवम् विज्ञहरुको सुझाव छ । 

हाल इजरायल सहित फिनल्यान्ड, फ्रान्स, जर्मनी, बेलायत र नेदरल्यान्ड लगायत थुप्रै देशहरुले कि स्कुल खुलिसकेका छन् कि आगामी हप्तादेखि खुलाउने सोच बनाइरहेका छन् । कतिपय देशमा संक्रमणको दर कम भएकाले पनि उनीहरु जोखिम लिन तयार देखिएका हुन् । तर अमेरिका सहित बिरामीको सङ्ख्या लगातार बढिरहेको देशमा भने स्कुल खुलाउनुले संक्रमणको सङ्ख्या थप वृद्धि गराउने निश्चित छ । 

गत हप्ता जर्नल ‘साइन्स’ मा प्रकाशित अनुसन्धानमा वैज्ञानिकहरुको एक टोलीले चीनका दुई सहर वुहान र सांघाइको डाटा अध्ययन गरेका हुन् । जसमा उनीहरुले बालबालिकाहरु वयश्क मान्छे भन्दा एक तिहाइ मात्र संक्रमित हुने सम्भावना रहेको पाए तर स्कुलहरु खुलाइएपछि भने उनीहरुमा वयश्कको तुलनामा कम्तीमा तीन गुणा संक्रमित हुने अवसर बढ्न सक्ने पत्ता लागेको हो किनकी बालबालिकाहरु वयश्क भन्दा तीन गुणा बढी व्यक्तिसँग सम्पर्कमा आउने गर्छन् जसले उनीहरु पनि उत्तिकै खतरामा रहेको स्पष्ट पार्दछ । 

यसरी डाटाका आधारमा उनीहरुले स्कुल बन्द गर्नु आफैँमा कोरोना रोक्न पर्याप्त नभएपनि यसले ४० देखि ६० प्रतिशतसम्म संक्रमणको दायरा कम गराउन सक्ने निष्कर्ष निकालेका हुन् । 

इटलीस्थित गणित सम्बन्धी ‘एपिडेमोलोजिस्ट’ मार्को एजेली भन्छन्, “मेरो रिसर्चले के देखाउँछ भने स्कुल फेरि खुलाएमा पक्कै पनि संक्रमण पुनः उत्पन्न हुनेको सङ्ख्या ठूलो स्तरमा बढ्नेछ जसबाट अहिलेको अवस्थामा पूरै विश्व जोगिन चाहन्छ । ” 

यसैगरी दोस्रो अध्ययन सञ्चालन गर्ने जर्मनका वैज्ञानिकहरुको समुहले भने यसलाई अझ स्पष्टसँग व्याख्या गरेका छन् । सो टोलीले बालबालिका र वयश्कहरुमा दुवैमा परीक्षण गरि, पोजिटिभ भेटिएका बालबालिकासँग पनि भाइरस फैलाउने उत्तिकै क्षमता रहेको पत्ता लगाएका हुन् अर्थात उनीहरु पनि वयश्यक जत्तिकै संक्रमक छन् । 

कोलम्बिया युनिभर्सिटीका रोग विश्लेषक जेफ्री सेमनका अनुसार यी अध्ययनहरु सटिक नभएपनि बालबालिकालाई कोरोना हुँदैन भन्ने अपुष्ट धारणाका आधारमा विद्यालयहरु खुलाउनु ठूलो मूर्खता हुनेछ । 

जर्मनको रिसर्चका प्रमुख डाक्टर क्रिस्टियन ड्रोस्टन, बर्लिनको ल्याबमा ६० हजार भन्दा बढी कोरोना संक्रमितको परीक्षण गराएका भाइरोलोजिस्ट हुन् । र सो रिसर्चका लागि उनी र उनका सहकर्मीहरुले मिलेर १ देखि एघार वर्षसम्मका ४७ संक्रमित बालबालिकाहरुको अध्ययन गरेका हुन् । ती मध्ये १५ जना अस्पताल भर्ना हुनुपर्ने अवस्थामा थिए भने बाँकीमा चाहिँ केही लक्षण देखा परेकै थिएन । 

यस्तोमा लक्षण नभइ संक्रमित भएका ती बालबालिकाहरुले एक वयश्क जति नै दरमा रोग फैलाउन सक्ने पत्ता लागेको हो । डाक्टर ड्रोस्टन भन्छन्, “ती बालबालिकाहरुको समुहमा केही यस्ता पनि थिए जसमा भाइरसको ‘कन्सन्ट्रेसन’ अर्थात घनत्व अत्यन्तै उच्च थियो । यसको मतलब उनीहरु तुलनात्मक रुपमा ज्यादै संक्रामक मानिन्छन् । यसकारण पनि म विश्व नेताहरुलाई अहिले नै स्कुल खोल्न सुझाव दिन सक्दिनँ । ” विशेषगरी अमेरिकामा अहिले नै स्कुल खुलाउनु धेरै छिटो र गलत निर्णय हुने उनले बताएका छन् । 

चीनको अध्ययन गरेका अनुसन्धानकर्ताहरुले चाहिँ वुहानका ६३६ र सांघाइका ५५७ जनाको अध्ययन गरेका हुन् । यसमा उनीहरुले सबै बिरामीसँग लकडाउन अघि र पछि कतिजनासँग सम्पर्कमा आएको भन्ने सम्बन्धी डाटा लिएका हुन् । जसपछि लकडाउन गर्नुले शारीरिक लगायत सबै किसिमको सम्पर्कलाई सातदेखि आठको सङ्ख्यामा कम गराएको पाइएको हो । यही  कारण नै दुवै स्थानमा महामारी नियन्त्रणमा ल्याउन सकिएको डाक्टर अजेली बताउँछन् । साथै उनीहरुले हुनान प्रान्तको रोग नियन्त्रण तथा रोकथाम केन्द्रबाट सात हजार बढी बिरामीको अतिरिक्त डाटा पनि संकलन गरि अध्ययन गरेका हुन् । जस पश्चात् १ देखि १४ वर्षका बालबालिकाहरु भाइरसबाट तुलनात्मक रुपमा कम संवेदनशील रहेको पत्ता लागेपनि संक्रमण पुनः उत्पन्न हुन नदिन स्कुलहरु बन्दै गर्न आवश्यक रहेको उनीहरुको निष्कर्ष छ । 

अर्कोतर्फ केही विज्ञहरुले चाहिँ लामो समय स्कुल बन्द गर्नु अव्यवहारिकका साथै बच्चाहरुका लागि हानिकारक साबित हुने चेतावनी पनि दिइरहेका छन् । जोन होप्किन्स युनिभर्सिटीको ब्लुमबर्ग पब्लिक हेल्थकी रोगविद् जेनिफर नुजोका अनुसार स्कुल खुलाउने नखुलाउने भन्ने कुरा संक्रमणबाट जोगाउनेमा मात्र निर्भर राख्नु हुँदैन । डिभाइसबाट पढाउनुले अस्थाइ रुपमा बालबालिकालाई भुल्याउन सक्छ तर जोसुकै अभिभावकसँग प्रश्न गर्दा पनि त्यो वास्तविक सकाइको तरिका होइन भन्ने थाहा पाउन सकिने उनले बताइन् ।

पहिले नै पढाइमा संघर्षरत् विद्यार्थीहरुमा यसले विशेष रुपमा दिर्गकालीन असर पार्ने उनी बताउँछिन् । उनी भन्छिन्, “मैले भाइरसको ठूलो जोखिम हुँदाहुँदै स्कुल खुलाइ हाल्नुपर्छ भन्न खोजेको होइन । तर हामीले यस विकल्पबारे सोच्न बन्द गर्नु हुँदैन । ” त्यसैले पनि सबै देशका सरकारले कसरी स्कुल खुलाउने भन्ने विकल्प र त्यसका परिणामबारे विज्ञहरुसँग मिलेर सक्रिय रुपमा राम्ररी छलफल गर्नुपर्ने बताइएको छ । यसबारे डाक्टर ड्रोस्टन भन्छन्, “हो मैले यो विषयमा नराम्रो खबर ल्याएको छु जसलाई म बदल्न पनि सक्दिनँ । किनकि डाटाले त्यही देखाएको छ । ”  

बाह्रखरी/ द न्युयोर्क टाइम्सको सहयोगमा  

गठबन्धन चुनावलाई मात ...

इलाम/  इलाम क्षेत्र २ मा आउँदो १५ गते हुने उप ...

चार वर्षदेखि बन्द झा ...

दमक/ चार वर्ष अघिदेखि बन्द रहेको झापाको गौरीगन्ज ग ...

महाकुम्भ मेलाामा प्र ...

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ...

भिक्टोरी रेसिडेन्सिय ...

धरान /धरान ११ कल्याणचौकमा रहेको भिक्टोरी रेसिडेन्स ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved