कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद रासीद छन् । उनीहरु अस्पतालमा भर्ना भएको १४ दिनपछि दोस्रो र तेस्रो पटकको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ ।
रिर्पोट नेगेटिभ आएकोले सबैलाई बुधबार नै डिस्चार्ज गरिएको कोशी अस्पतालकी कार्यबहाक मेडिकल सुपरिडेन्डेन्ट संगीता मिश्रले बताएकी छन् । उनीहरु सबै अब विराटनगर रानीको एउटा मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्नेछन् । त्यहाँ १० वटा वेडरुम र १० वटा शौचालय भएको कोठा तयार गरिएको छ ।
उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका बेला कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते राति उनीहरुर्ला कोशी कोभिड १९ उपचार केन्द्रमा ल्याइएको थियो । ल्याइएका १२ जनामध्ये ६ जना डिस्चार्ज भएका हुन् ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई बुधबार विहान विदाइ गरे । पहिलो चरणमा अस्पताल भर्ना भएका १३ जनाको स्वाब परीक्षणमा ६ जनाको दोस्रो र तेस्रो पटक नेगेटिभ नतिजा आएको हो । पोजेटिभ देखिएकालाई अर्को १४ दिन अस्पतालमै राखिने छ ।
कोशी अस्पतालमा उदयपुरका २८ सहित ३१ जना उपचारमध्ये १२ जना भारतीय हुन् । २ जना झापाका र १ जना भोजपुरका पनि त्यहीं उपचाररत छन् । अब अस्पतालमा २५ जना बाँकी छन् ।