विराटनगर । प्रदेश १ को उदयपुर, झापा र भोजपुर जिल्लामा ३१ जनामा कोरोना संक्रमण (कोभिड १९) देखियो । अहिले सबैको कोशी कोभिड अस्पताल विराटनगरमा उपचार भईहेको छ ।
यतिबेला सर्वसधारणको ध्यान संक्रमितको संख्यामा नै केन्द्रीत भएको पाइन्छ ।
तर, प्रदेशहरुमा खतराको सूचीमा रहेका मानिसको संख्या पनि उत्तिकै छ । १ नम्बर प्रदेशमा खतराको सूचीमा रहेका संभावित संक्रमितको संख्या दिनानु दिन बढ्दो क्रममा रहेको सरकारको तथ्यांकले नेै देखाएको छ ।
चिकित्सकीय निगरानीमा आईसोलेसनमा बस्ने र निश्चित नियम पालना गरेर सार्वजनिक क्वारेन्टाइनमा राखिएकाहरुको तथ्यांकको ग्राफ ओर्लनुको साटो उक्लदों अवस्थामा देखिन्छ । यो अवस्था प्रदेश १ मा पनि छ ।
अठाईस दिनअघि अर्थात गत चैत २३ गतेसम्म सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्ने जम्मा ५ सय ९९ जना थिए । एक महिना नपुग्दै यो संख्या चारगुणा बढिसकेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले उपलब्ध गराएको शनिबारसम्मकोे तथ्यांकअनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २ हजार २ सय ७८ जना पुगेको छ ।
त्यतिबेला होम क्वारेन्टाइनमा बसेका २ हजार ७ सय ५३ को संख्या बढेर ६ हजार ७ सय ६ जना पुगेको छ । चिकित्सकको उच्च निगरानीमा ३४ जना आईसोलेसनमा बसिरहेका छन् ।
कोशी अस्पतालकी मेसु डा. संगीता मिश्रले संक्रमितको सम्पर्कमा आएका वा उच्च जोमिखमा भएकाहरुलाई नै आईसोलेसनमा राख्ने गरिएको बताउँछिन् । भन्छिन्,‘‘आईसोलेसनमा बस्नेहरुलाई चिकित्सकीय निगरानी पनि अलि बढी गरिएको हुन्छ ।’’
३१ पीसीआर र १५ जनामा आरडीटी पोजेटिभ
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार प्रदेश १ सरकारले जम्मा ३ सय ११ स्थानमा ५ हजार ७ सय ३ शैयाको क्वोन्टाइन निर्माण गरेको छ ।
५३ स्थानमा ४ सय ४९ आईसोलेसन बेड र विभिन्न अस्पतालमा ४४ बेड आईसियू तयारी अवस्थामा राखेको छ । शनिबारसम्म आईसोलेसनमा बस्नेको संख्या ३४ छ । जबकी अठाईस दिनअघि आईसोलेसनबाट आठ जना डिस्चार्ज भएका थिए ।
कोरोना सूचना डेस्कका अनुसार कोरोना परीक्षणको संख्या बढेसंगै प्रदेश १ मा संक्रमित पनि थपिन पुगेका छन् ।
यसैगरी पीसीआर विधिबाट ल्याबमा स्वाब लगेर गरिने परीक्षणबाट जम्मा ३१ ज्नामा कोरोना पोजेटिभ नतिजा आएको छ । द्रूत परीक्षण विधि (आरडिटी) बाट हालसम्म यो प्रदेशमा जम्मा १५ जनामा पोजेटिभ रिर्पोट आएको छ ।
ल्याबमा गरिने परीक्षणबाट शनिबारसम्म ६ हजार ९ सय ९५ जनामा कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको छ । आरडीटीतर्फ ५ हजार ४ सय ८४ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
पिसिआरबाट १ हजार ४ सय ९६ जनामा कोरोना भए नभएको परीक्षण भएको छ । तीमध्ये एक हजार ४ सय ५३ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
विराटनगरको कोशी र पशुचिकित्सा प्रयोगशाला अनि धरानको वीपी प्रतिष्ठानमा कोरोना परीक्षण गर्ने ल्याब सरकारले संचालनमा ल्याएको छ ।