विराटनगर । प्रदेश १ का प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमित उदयपुरको भुल्केसहितका क्षेत्रका सबै नागरिकमा कोरोना परीक्षण गर्न माग गरेको छ ।
कांग्रेस संसदीय दलको विहीबार प्रदेशसभामा भवन विराटनगरमा बसेको बैठकले दूत परीक्षण विधि(आरडीटी) प्रभावकारी नदेखिएकोले स्वाब लिएर ल्याबमा गरिने परीक्षण गर्न कांग्रेसको माग छ ।
विपक्षी दलका नेता राजिव कोइरालाको अध्यक्षतामा बसेको बैठकले १. प्रदेश सरकारले संघीय र स्थानीय सरकारसंग समन्वय गरी आरडीटी परीक्षण विश्वसनीय नदेखिएकोले त्यसलाई रोकेर पीसीआर परीक्षण बढाउनु पर्नेलगायत माग गरेको छ ।
बैठकको निर्णयबार कांग्रेस प्रमुख सचेतक केदार कार्कीद्वारा प्रकासित गरेको विज्ञप्तिमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा २८ जना संक्रमित देखिएको हुँदा भुल्केका सबै स्थानीय जनता र उनीहरुको सम्पर्कमा आएका र आउजाउ भएका स्थानका सम्बन्धित नागरिकको पीसीआर परीक्षण हुनुपर्ने । नजिकैका गाईघाट बजार, मोतीगढा, देउडी, जलजलेलगायत क्षेत्रमा सेम्पल टेस्ट(पीसीआर) विधिबाट हुनुपर्ने र उदयपुरमा कोरोना उपचार केन्द्रसमेत स्थापना गर्नुपर्ने माग गरिएको छ ।
यसैगरी,राहत वितरण गर्न प्रदेश सरकारले एकद्घार नीति अवलम्बन गरेको भनिएपनि मन्त्रीहरु र सरकारपक्षबाट नै उलंघन गरेको पाइएको भन्दै कांग्रेसले राहत कोषमा जम्मा भएको नगद तथा जिन्सीको विवरण, स्वास्थ्य सामग्री खरिदको खर्च र समग्र वितरण प्रक्रिया पारदर्शी बनाउन भनेको छ ।
‘‘मन्त्रीहरुले आफ्ना निर्वाचन क्षेत्रमा मात्र राहत केन्द्रीत गरेको भन्दै हाम्रो ठहर छ । अतः सरकारले दैनिक ज्याला मजदुरी गर्ने, किसान, निम्न मध्यम वर्गीय, मध्यम वर्गीय परिवार, उद्योगी व्यवसायीहरुसमेत कोरोना भाईरसबाट प्रभावित भएकोले एकमुष्ठ राहतको प्याकेज घोषणा गर्नुपर्ने । व्यक्ति व्यक्तिबीच दूरी कायम गर्दै खेतीपाती, उत्पादन र औद्योगिक गतिविधिको वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने’’ विज्ञप्तिमा उल्लेख छ ।
लकडाउनका कारण देश तथा विदेशमा अलपल अलपत्र परेका प्रदेश नं १ का नागरिकको उद्धार र व्यवस्थापन गर्न प्रदेश सरकारले अगुवाई लिने र उनीहरुको स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइनमा राख्ने प्रबन्धलाई थप प्रभावकारी बनाइनु पर्ने, र व्यक्ति व्यक्तिबीचको दूरी कायम गर्दै पूर्वबजेट तयारी तथा छलफल संचालन गर्दै बजेट अधिवेशन शुरु गर्न पनि कांग्रेसले माग गरेको छ ।
कोभिड १९ को बढ्दो संक्रमण र त्रासबीच देश अहिले लकडाउनमा रहेको अवस्थामा प्रदेश नं १ कोरोना संक्रमणको उच्च जोखिममा रहेकोले सरकार जनता, जनआकांक्षा र जनताको आवश्यकता प्रति गम्भीर नभएको कांग्रेसले आरोप लगाएको छ ।
कांग्रेसले कोरोनाका कारण संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै अग्रभागमा रहेर कोभिढ १९ को रोकथाम, नियन्त्रण, उपचार र सूचना दिने स्वास्थयकर्मी, सुरक्षाकर्मी र संचारकर्मी लगायतको उच्च प्रशंसा गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।