सुनसरी/ सुनसरीमा प्रहरीले लागूऔषध ब्राउन सुगरविरुद्धको कारबाही तीव्र बनाएको छ। एकै दिन जिल्लाका तीन स्थानबाट प्रहरीले ५ जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेकाहरूबाट ५७ ग्रामभन्दा बढी ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मङ्गलबार इनरुवा र धरानबाट छुट्टाछुट्टै समयमा गरिएको कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।
इनरुवा नगरपालिका–४ बसचोकमा साँझ ५ बजेर २० मिनेटमा प्रहरीले चेकजाँच गर्ने क्रममा मोरङको पथरी शनिश्चरे नगरपालिका–७ का १९ वर्षीय अनिमिश शिवा र १८ वर्षीय फुर्वा गुरुङ पक्राउ परेका छन्।
पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका उनीहरूको खानतलासी गर्दा मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ११.८१ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, इनरुवा नगरपालिका–४ मुसहरी टोलस्थित भित्री सडकमा दिउँसो ५ बजे प्रहरीले स्कुटरमा सवार तीन जनालाई पक्राउ गरेको छ।
पूर्वबाट रेडक्रस कार्यालयतर्फ जाँदै गरेको प्र.१–०२–४५ नम्बरको स्कुटरमा सवार मोरङ विराटनगर–४ का ३० वर्षीय सुधिर प्रसाद खनाल, इटहरी–१६ का २६ वर्षीय अनिराज चौधरी र इनरुवा–६ का २३ वर्षीय राम थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट १४.१४ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ। प्रहरीले स्कुटरसमेत नियन्त्रणमा लिएको छ।
यस्तै, धरान उपमहानगरपालिका–११ कुबिर्ता चोकस्थित ४८ वर्षीय प्रकाश तामाङको घरमा दिउँसो ४ बजेर ३० मिनेटमा खानतलासी गर्दा ३१.७९० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
तामाङलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।
तीनवटै घटनामा पक्राउ परेका पाँचै जनामाथि जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।