धरान/ सुनसरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका तीन जना प्रतिवादीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ।
अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै न्यायिक कारबाहीलाई पूर्णता दिने उद्देश्यले सोमबार खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा दोषी ठहर भएका उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याएको हो।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–११ का सुदिप राई रहेका छन्। कुटपिट तथा अंगभंग मुद्दामा दोषी ठहर भएका राईलाई अदालतले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनको फैसला २०८२ साल कात्तिक ३० गते भएको थियो।
त्यस्तै सोही मुद्दामा दोषी ठहर भएका धरान–११ कै पुरन तामाङ पनि पक्राउ परेका छन्। अदालतले तामाङलाई ६ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना तोकेको थियो।
यसैगरी लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका मोरङको केराबारी गाउँपालिका–६ का प्रस्ताव राई पक्राउ परेका छन्। उनलाई अदालतले ८ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनको फैसला २०८२ साल भदौ ३१ गते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउँदै फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइनेछ।