गाईघाट/ उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तीवन क्षेत्रबाट ११ क्विन्टल २२ किलो गाँजा बरामद गरेको हो ।
उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार उक्त क्षेत्रमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो ।
खोजतलासका क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी तथा जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा र बोलेरोसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१ डाँडागाउँका ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगर रहेका छन् ।
बरामद गरिएको गाँजा, बोलेरो र पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।