धरान/ सुनसरी प्रहरीले धरान र इटहरीबाट विभिन्न प्रकारका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरानका एक युवक तथा अटोमा गाँजा ओसारपसार गरिरहेको आरोपमा दुई जना रहेका छन्।
प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१५ त्रिवेणी चोकमा पैदल हिँडिरहेका धरान–५ निवासी २२ वर्षीय सूर्य लावतीलाई शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट ट्रामाडोल १५० क्याप्सुल, डेकोलिक ५० ट्याब्लेट र एन्जाइन १०० ट्याब्लेट बरामद भएको हो।
यस्तै, इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गको नहर छेउ भित्री सडकखण्डमा अटो चेकजाँच गर्ने क्रममा १० किलो ३० ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
को २ ह ४९७२ नम्बरको अटो चालक मोरङ सुन्दरहरैंचा–१२ निवासी ५० वर्षीय विजय चौधरी र अटोमा सवार धरान–२० निवासी २१ वर्षीया अञ्जली राईलाई गाँजासहित नियन्त्रणमा लिइएको छ।
दुवै घटनामा पक्राउ परेकाहरूलाई सम्बन्धित इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।