-सकुशल फेला परेकी बिन्दीकुमारी मण्डल। तस्बिर : शिवशंकर मिश्रा
बारा/ बाराको कलैयाबाट शनिबार साँझ घरअगाडिबाट हराएकी २३ महिने बालिका करिब १२ घण्टापछि आइतबार बिहान सकुशल फेला परेकी छन्।
कलैया उपमहानगरपालिका–१, कट्टिपर्सा निवासी मुकेशकुमार मण्डलकी छोरी बिन्दीकुमारी मण्डल शनिबार साँझ करिब ५ः३० बजे घरछेउबाट बेपत्ता भएकी थिइन्।
बालिका हराएको जानकारी पाएपछि परिवारले राति करिब ८ः४५ बजे प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्क, बाराबाट प्रहरी नायब निरीक्षक विमलेशकुमार यादवको कमाण्डमा टोली परिचालन गरी खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा थप प्रहरी टोलीसमेत परिचालन गरिएको थियो।
बालिकाको खोजीका लागि नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट प्रहरी सहायक निरीक्षक विमल पौडेलको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको टोली खटाइएको थियो। नेपाली सेनाको रिपुमर्दन गण तथा सशस्त्र प्रहरी बल नेपाल नं। १२ गण बाराबाट समेत टोली परिचालन भएपछि सुरक्षा निकायले रातभर सम्भावित स्थानहरूमा खोजी गरेको थियो।
यसै क्रममा आइतबार बिहान करिब ५ः४५ बजे कलैया उपमहानगरपालिका–२६, सिसवा महेशपुर क्षेत्रमा सडक किनारको नालामा बालिका रोइरहेको अवस्थामा स्थानीय ४५ वर्षीया सल्मा नेसाले फेला पार्नुभएको थियो। उहाँले बालिकाको उद्धार गरी घरमा ल्याएर आफन्तलाई खबर गर्नुभएको र त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
बालिका फेला परेको स्थान उहाँको घरबाट करिब एक किलोमिटर उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ।
छोरी सकुशल भेटिएपछि पिता मुकेशकुमार मण्डलले खुसी व्यक्त गर्दै प्रहरीलाई धन्यवाद दिनुभएको छ। उहाँले बालिका रातभर कहाँ र कसरी उक्त स्थानसम्म पुगिन् भन्नेबारे आफूहरू अन्योलमा रहेको बताउनुभयो।
घटनाबारे आवश्यक जानकारी लिएर बालिकालाई प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो। परीक्षणपछि बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
बालिका हराउँदा गहुँगोरो वर्ण, करिब दुई फिट उचाइ तथा ‘बोलबम’ लेखिएको गन्जी र हाफ पाइन्ट लगाएकी थिइन्। उनी स्पष्ट रूपमा बोल्न नसक्ने अवस्थाकी रहेको बारा प्रहरीले जनाएको छ।
बालिका सकुशल फेला परेपछि रातभर खोजीमा परिचालित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका टोलीहरू आ–आफ्नो कार्यालय फर्किएका छन्। बालिका घरबाट कसरी बाहिरिइन् र उक्त स्थानसम्म कसरी पुगिन् भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
_गोरखापत्र अनलाइन