धरान/ इटहरी उपमहानगरपालिका–८ स्थित बिजुली अफिस नजिकबाट प्रहरीले खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित चार जनालाई पक्राउ गरेको छ ।
लागुऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय इटहरी र अस्थायी प्रहरी बिट पूर्वी गैसारबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–५ का २६ वर्षीय निकेश माझी, इटहरी उपमहानगरपालिका–८ का २२ वर्षीय युवराज विक, मोरङको केरावारी गाउँपालिका–१ का २१ वर्षीय रेजन विश्वकर्मा र झापाको अर्जुनधारा नगरपालिका–८ का २१ वर्षीय सन्देश राउत रहेका छन ।
पक्राउ परेका उनीहरूको साथबाट ट्रामाडोल ९ सय ४१ क्याप्सुल र डाइसाइक्लोमिन एक हजार २ सय ३० ट्याब्लेट ०.६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
घटनास्थलबाट विभिन्न कम्पनीका पाँच थान एन्ड्रोइड मोबाइल,को ३६ प ५५४७ नम्बरको बजाज कम्पनीको १५० सीसी मोटरसाइकल र नगद ५३ हजार २ सय १० समेत बरामद गरिएको सूचना अधिकारी खड्काले बताए ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।
यसैगरी धरान उपमहानगरपालिका–१६ समीचोकबाट प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरिएको छ । लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बजे सोही ठाउँका स्थानीय २१ वर्षीय विदुर कार्कीको कोठा खानतलासी गर्दा स्पास्पानका ४ सय २८ ट्याब्लेट र ट्रामोलका ५सय ४८ क्याप्सुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिबन्धित औषधिसहित पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।